आफ्नो अभियानमा बालेन साहलाई समेट्दा राम्रो हुन्छ : रावल

आफ्नो अभियानमा बालेन साहलाई समेट्दा राम्रो हुन्छ : रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एमालेबाट बहिर्गमित नेता तथा मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल धनगढी पुगेका छन् ।

बिहीबार काठमाडौंमा पार्टीको नाम सार्वजनिक गरेका रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका हुन् । उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन् ।

रावल काठमाडौंबाट धनगढीसम्म एमाले नेता तथा पूर्वमन्त्री कर्ण थापा एउटै जहाजमा सँगै बसेर पुगेका छन् । भ्रमणको क्रममा रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।

धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रावलले हिजो जुसुकै पृष्ठभूमिका भए पनि अहिले आफूसँग जोडिनेहरू आफ्नो अभियानका सदस्य हुने बताए ।

‘हिजो कोही समाजवादी थियो कि कसैले राजाको नारा लगाएको थियो कि? कसैले कांग्रेसको नारा लगाएको थियो कि? म यहीँबाट भन्छु, जो जहाँ–जहाँ भए पनि मेरो साथमा आएपछि ती मातृभूमि जागर अभियानका हुन्’, उनले भने ।

बालेन शाहबारे सोधिएको प्रश्नमा रावलले राष्ट्रको हितमा अगाडि आउने सबैसँग मिलेर अगाडि बढ्ने बताए । उनले भने, ‘यो देशको हित चाहने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’

रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरे । यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा व्यक्त गरे । रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’ रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरु हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।

एमालेबाट निस्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।

उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देशदौडाहामा छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए ।