काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलले नेपालकै पहिलो स्वस्थ सहरको मान्यता पाएको छ । पहिलो स्वस्थ सहर घोषणासँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धुलिखेललाई पुरस्कारसमेत प्रदान गरेको छ ।
स्वस्थ सहर घोषणासँगै नगरलाई डब्लुएचओद्वारा पाँच हजार अमेरिकी डलरसहित प्रमाणपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको छ । संस्थाका नेपाल आवासीय प्रतिनिधि राजेश पाण्डवले स्वास्थ्य सेवा विभाग टेकुका महानिर्देशक विकास देवकोटाको उपस्थितिमा धुलिखेललाई नेपालकै पहिलो स्वस्थ सहरको मान्यता प्रदान गरेका हुन् ।
नगरलाई पुरस्कारस्वरूप पाँच हजार अमेरिकी डलर प्रदान गरिएको हा े। यसअघि संगठनका प्रमुख डा. सुभाजी गुडद्वारा २०८१ भदौमा धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर घोषणा गरिएको थियो ।
नगरप्रमुख अशोककुमार ब्याञ्जूले धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर घोषणा गरिएकामा खुसी व्यक्त गर्दै यसलाई काभ्रेपलाञ्चोक मात्रै नभई नेपालकै गौरवको विषय भएको बताए । उनले भने, ‘सहस्राब्दी दिगो विकासका १७ सूचकमध्ये नगरले शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरिसकेको छ, स्वस्थ सहरका लागि विकासमा पूर्वाधार निर्माण मात्र हो भन्ने बुझाई भएका आमनागरिक र जनप्रतिनिधिले विश्वका सूचक, मापदण्ड र नागरिकका सानासाना विषयलाई ध्यान दिएर काम गर्नुपर्ने पाठसमेत सिकेका छौँ ।’
नगरप्रमुख ब्याञ्जूले लगातार दुई वर्षदेखि नगरले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मूल्यांकन गर्दै संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिणपूर्व एसियाको दोस्रो तहको स्वस्थ सहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको बताए ।
नगरले संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ ।
यस्तै, नगरले संगठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्यलगायत सहरी स्वास्थ्य सुशासनमा काम गरिरहेको ब्याञ्जूले बताए । अपांगता, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण, सुरक्षित र पूर्णखोप, सामुदायिक स्वास्थ्यलगायत क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको नगरले जनाएको छ ।
संगठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको हो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर भएको छ ।
यसैगरी, धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ। धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन सन् २०२४ अक्टोबर पहिलो साता थाइल्यान्डस्थित संयुक्त राष्ट्रसंघमा पेस गरेको थियो । त्यतिवेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो ।
नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने कामसमेत सकेको जनाएको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो । केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरीका औषधि पर्याप्त बनाइएको छ । नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिरहेको छ ।
यस्तै, धुलिखेल विश्व स्मार्ट दिगो सहर संगठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका १३६ देशका सहर सदस्य रहेको संगठनको विश्व स्मार्ट दिगो सहर संगठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो ।
यस्तै, धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत सन् २०२२ नोभेम्बर पहिलो साता स्कटल्यान्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो । नगरले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरेका थिए ।




प्रतिक्रिया