गाजा युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै

गाजा युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै


काठमाण्डु- इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आइतवारदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो ।

पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा १ हजार ८९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले हमाससँग आवश्यक भएमा लडाइँ फेरि शुरु गर्ने अधिकार सुरक्षित राखेको बताएकोे बीबीसीले उल्लेख गरेको छ ।

हमास लडाकु समूहले सन् २०२३ को अक्टोवर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । त्यसबेला १ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए । हमासले २५१ जनालाई बन्धक बनाएको थियो । यो बीचमा भएको अस्थायी युद्धविरामका बेला १०९ जनालाई हमासले मुक्त गरेको थियो ।

पछिल्लो सहमतिमा पनि युद्धविरामसहित हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्त छ । नेपालका विपिन जोशीसहित तान्जानिया, थाइल्यान्ड र इजरायलका नागरिक हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् ।