अमेरिकी राष्ट्रपति ट्रम्पको शपथमा मोदी र सी सहभागी नहुने

अमेरिकी राष्ट्रपति ट्रम्पको शपथमा मोदी र सी सहभागी नहुने


काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा शपथ गर्दै पदभार सम्हाल्दैछन् ।ट्रम्प २० जनवरी २०१७ मा पनि अमेरिकाको राष्ट्रपति भएका थिए । उनी चार वर्षपछि पुनः अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा प्रवेश गर्दैछन् ।

अमेरिकी राष्ट्रपतिको इतिहासमा ह्वाइट हाउस प्रवेश गर्ने उनी दोस्रो राष्ट्रपति हुन् । यसअघि ग्रोवर क्लिवल्यान्ड १८८५ र १८९३ मा दुई पटक ह्वाइट हाउसमा प्रवेश गर्ने मौका पाएका थिए ।

ट्रम्पको शपथ तथा पद ग्रहण समारोहलाई भव्य बनाइएको छ । यसका लागि अनेकौं कम्पनीहरूले करोडौं डलर दान दिएका छन् । परिणमतः समारोह भव्य र धुमधामका साथ आयोजना हुने जनाइएको छ । अमेरिकाको ज्वाइन्ट कांग्रेशनल कमिटी अन इनागुरल सेरेमनिज (जेसीसीआईसी) को तर्फबाट हुने यो समारोहको परम्परा दुई वर्ष पुरानो छ ।

को-को आउँदैछन् ?

ट्रम्पको शपथ समारोहमा उपस्थित हुने व्यक्तिहरूको नाम राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छैन । तर मिडिया रिपोर्टअनुसार यस समारोहमा विश्व प्रसिद्ध नेता, व्यापारी, सिने जगतका हस्तीहरू उपस्थित हुनेछन् ।

साथै, पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस र बिल क्लिंटन पनि समारोहमा उपस्थित हुनेछन् । साथै, संसारकै धनाढ्य उद्योगपतिहरू एलन मस्क, जेफ बेजोस र मार्क जुकरबर्ग पनि अतिथिको सूचीमा छन् । गुगलका सीईओ सुन्दर पिचाई पनि उपस्थित हुनेछन् ।

विदेशी नेताहरूको सूचीमा ट्रम्पले दक्षिणपन्थी मित्रहरूलाई बोलाएका छन् । जसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिली र इटलीका प्रधानमन्त्री जियार्जिया मेलोनी छन् ।

यसका अतिरिक्त यस सूचीमा जर्मनीको अल्टरनेटिव फर जर्मनी (एएफडी) पार्टीका टिनो श्रुपाला र बेलायतको पापुलिस्ट पार्टी रिफर्म पार्टीका नेता नाइजल फराजलाई पनि बोलाइएको छ ।

मोदी र सी उपस्थित नहुने

ट्रम्पले आफ्नो शपथ समारोहमा चीनका राष्ट्रपति सी जिनपिङलाई आमन्त्रण गरेका छन् । ट्रम्पको पहिलो कार्यकालमा सी उनका सबैभन्दा ठुलो प्रतिद्वन्द्वी थिए ।

ट्रम्पका प्रवक्ता कैरोलाइन लेविटका अनुसार राष्ट्रपति ट्रम्पले सबै देशसँग खुला संवाद राख्न खोजेका छन् । ‘चाहे ती विरोधी हुन्, प्रतिद्वन्द्वी हुन् या सहयोगी’, उनले भनेका छन् ।

तर चिनियाँ राष्ट्रपति सीलाई ट्रम्पले आमन्त्रण गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने निमन्त्रणा गरेका छैनन् ।

भूराजनीतिक क्षेत्रका जानकारहरूले प्रश्न गरेका छन्–आखिर ट्रम्पले प्रतिद्वन्द्वी मानिने चीनलाई बोलाए तर सहयोगी र मित्र राष्ट्र भारतलाई किन नजरअन्दाज गरे ?

अमेरिकाको मिसिगन विश्वविद्यालयको स्कूल अफ इनर्फमेशनका प्राध्यापक जोयोनित पाल भन्छन्, ‘अमेरिका एक पार्टनरका रूपमा खासगरी ट्रम्पका लागि सी महत्वपूर्ण छन् ।’

चीनसँग व्यापार ठप्प हुनु भनेको अमेरिकाका लागि विनाशकारी हुने भएकाले ट्रम्पले शपथ समारोहमा चिनियाँ राष्ट्रपति सीलाई आमन्त्रण गरेर सम्बन्ध सुधार्न चाहेको उनले बताए ।

तर ट्रम्पको भारतसँग राम्रो सम्बन्ध रहेका कारण शपथ समारोहमा भारतीय प्रधानमन्त्रीलाई आमन्त्रण नगरे पनि सम्बन्धमा कुनै असर नपर्ने एकथरि विश्लेषकहरूको मत छ ।

ट्रम्प आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा धेरै ध्यान अन्तरर्राष्ट्रिय विषयहरू जस्तो इजराइल–हमास संघर्ष, रूस–युक्रेन युद्ध र विश्वमा बढिरहेको चिनियाँ प्रभावमाथि केन्द्रित राख्ने तयारीमा छन् ।

अमेरिकी विश्लेषकहरू आउने समय ट्रम्पका लागि सबैभन्दा चुनौतीपूर्ण भनेको अमेरिका–चीन सम्बन्ध नै रहने बताउँछन् ।

‘सीलाई आमन्त्रण गर्नुको पछाडि मुख्य कारण सम्वाद हो । चीनसँग अमेरिकाको द्विपक्षीय सम्बन्ध अत्यन्तै संवेदनशील छ । तर यस विपरीत भारतसँग अमेरिकाको सम्बन्ध राम्रो अवस्थमा छ’ अमेरिकामा दक्षिण एशिया मामिलाका विश्लेषक माइकल कुगेलम्यान भन्छन् ।

यसकारण ट्रम्पको सपथ समारोहमा मोदीको उपस्थिति हुनु वा नहुनुमा खासै फरक नरहेको उनको भनाइ छ । उनका अनुसार यस वर्षको अन्त्य तिर क्वाड शिखर सम्मेलनमा मोदी र ट्रम्पबीच भेट हुने सम्भावना छ ।

तर पनि केही विश्लेषकहरू मोदीलाई आमन्त्रण नगर्ने ट्रम्पको निर्णयबाट सम्बन्धमा असर पर्न सक्ने अनुमान गर्छन् । प्रोफेसर सुमित गांगुली भन्छिन् ‘यसले मोदी–ट्रम्पबीच सम्बन्ध चिसो भएको अनुमान गर्न सकिन्छ ।’

पछिल्लो सेम्टेम्बर महिनामा भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको भ्रमणमा जाँदा ट्रम्पसँग भेट भएको थिएन् । त्यतिबेला ट्रम्प चुनावी अभियानमा व्यस्त थिए ।

यद्यपी समाचार अनुसार ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई आमन्त्रण गरे पनि उनले उपराष्ट्रपति हान झेंगलाई पठाएका छन् । यता भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रण नगरिए पनि विदेश मन्त्री डा. एस जयशंकर शपथ समारोहमा सहभागी हुनेछन् ।