रुपन्देहीमा रवि लामिछानेविरुद्ध आज थुनछेक बहस हुँदै

रुपन्देहीमा रवि लामिछानेविरुद्ध आज थुनछेक बहस हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बुटवलको सुप्रिम सहकारी हिनामिना अभियोगमा रास्वपा सभापति रवि लामिछानेको बिहीबारबाट थुनछेक बहस सुरु हुँदै छ । उनको मुद्दा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा छ ।

बुधबार बयान सकिएपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा–जमानीमा छाड्न जिल्ला अदालत रुपन्देहीले दिएको थियो ।

यसअघि स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछानेका वकिलहरूले जिम्मा–जमानीमा राख्न काठमाडौं जिल्ला अदालतमा माग गरे पनि न्यायाधीशले अस्वीकार गरेका थिए । जसका कारण उनलाई बिचमा परेको सार्वजनिक बिदासमेत गरी तीन दिन न्यायिक हिरासतमा राखिएको थियो ।

बुधबार अदालतमा आफैं उपस्थित भएका लामिछानेको बयान सकिए पनि समय अभावका कारण बुधबार थुनछेक बहस हुन सकेको थिएन ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार लामिछाने बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ । त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछन् ।

रविसहित २२ जनालाई प्रतिवादी बनाउँदै आइतबार सुप्रिम सहकारीको पूरक मुद्दा दायर भएको थियो । लामिछाने यसअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले ६० लाख धरौटीमा छाडेको थियो । त्यसअघि सूर्यदर्शन सहकारीको मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो ।