काठमाण्डु : गैर–अमेरिकी आमाबाबुका सन्तानलाई जन्मकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले १४ दिनका लागि रोक लगाएको छ । संघीय अदालतका न्यायाधीश जोन कोफेनरले वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यबाट दायर गरिएको निवेदनमा यो फैसला सुनाएका हुन् ।
सीएनएनका अनुसार बहसको क्रममा न्यायाधीश जोन कफेनरले न्याय विभागका वकिललाई रोक्दै सोधे, ‘यो आदेशलाई कसरी संवैधानिक मान्न सकिन्छ? यो त दिमाग नै हल्लाउने खालको छ । यो स्पष्ट रूपमा असंवैधानिक आदेश हो ।’
न्यायाधीश कफेनरले ४० वर्षभन्दा बढी समयदेखि बेन्चमा बसे पनि आजसम्म यति असंवैधानिक मुद्दा नदेखेको बताए । मुद्दाको अर्को सुनुवाइ फेब्रुअरी ५ मा हुनेछ ।
ट्रम्पले शपथ ग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाएका थिए । यो फैसलाले अमेरिकामा प्रत्येक वर्ष जन्मिने १.५ लाख नवजात शिशुहरूको नागरिकता खतरामा परेको आलोचकहरुले जनाएका छन् । उक्त आदेश कार्यान्वयन गर्न ३० दिनको अवधि अर्थात् फेब्रुअरी १९ सम्म समय दिइएको छ ।
ट्रम्पको उक्त निर्णयपछि मंगलबार २२ राज्यका महान्यायाधिवक्ताहरूले दुई संघीय जिल्ला अदालतमा उक्त आदेश उल्टाउन माग गर्दै मुद्दा दायर गरेका थिए । संयुक्त राज्य अमेरिका जन्मसिद्ध नागरिकता वा जस्ट सोली (माटोको अधिकार) को सिद्धान्त लागू हुने ३० देशहरू मध्ये एक हो ।
उनीहरूले राष्ट्रपति र कांग्रेस (संसद) सँग १४ औं संशोधन अन्तर्गत जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने संवैधानिक अधिकार नभएको मुद्दा दायर गरेका छन् ।
जन्मसिद्ध नागरिकता बढ्दै
१८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी कांग्रेसले १४ औं संशोधनलाई अनुमोदन गरेको थियो । त्यसमा देशमा जन्मेका सबै अमेरिकीहरू नागरिक हुन् भनिएको थियो । यस संशोधनको उद्देश्य दासत्वको शिकार भएका अश्वेत मानिसहरूलाई अमेरिकी नागरिकता प्रदान गर्नु थियो ।
संशोधनमा संयुक्त राज्य अमेरिकामा जन्मेका सबै बालबालिकाहरूलाई समावेश गर्ने गरी व्याख्या गरिएको छ । उनीहरूका आमाबाबुको आप्रवासन स्थिति जेसुकै भए पनि अमेरिकामा जन्मेकै आधारमा सबैले नागरिकता पाउने गरेका छन् । यस कानूनको फाइदा उठाउँदै धेरै देशका मानिसले अमेरिका गएर बच्चा जन्माउने प्रचलन बढेको छ ।




प्रतिक्रिया