वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति


काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाण्डु जिल्ला अदालत परिसरमा आक्रमण गर्ने एक जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाका संस्थापक उपसभापति रहेको खुलेको छ । त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति भएको खुलेको हो ।

त्रिपाठीमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गर्दै त्रिपाठीले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले उजुरीपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका ललितकुमार केसी र शीतल उर्फ सीता राईको बारेमा स्पष्ट नखुले पनि जैशी भने रास्वपामा अझै क्रियाशील रहेको खुलेको हो ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको जानकारी दिएका छन् । तर, उनी घटनास्थलमा उपस्थित भए पनि आक्रमणमा संलग्न नभएको रास्वपा नेताहरूले बताउने गरेका छन् ।

रास्वपाले २ माघमै विज्ञप्ति निकालेर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपा कार्यकर्ता भएको प्रमाणित भएमा कारबाही गर्ने बताएको थियो । कार्यवाहक महामन्त्री बुर्लाकोटीले आक्रमणमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीले कारबाही गर्ने तर, उनले अहिलेसम्म आक्रमणमा संलग्न भएको नदेखिएको बताए ।

पछिल्लो समय रास्वपा केन्द्रीय कार्यालयमा नियमित आउनेजाने गरिरहेका जैशी सभापति लामिछानेविरुद्ध कसैले तर्क गरेमा आक्रामक हुने गर्थे ।

रास्वपाका अनुसार पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीले रास्वपा सदस्यताका निम्ति आवेदन दिए पनि रास्वपाले स्वीकृत गरेको छैन ।