काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन र चैत महिनाभर विरोध प्रदर्शन र जागरणसभा गर्ने निर्णय गरेको छ ।
काठमाण्डुमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुनमा प्रदेश र जिल्ला तहमा तथा चैतमा काठमाण्डु केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सुनाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाण्डु केन्द्रित कार्यक्रमको स्वरूप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्ने बताए । पार्टीको सदस्यता वितरण अभियानलाई तीव्रता दिने, २०८१ लाई पार्टी प्रवेश वर्ष र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।
केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रूपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरेको उनले बताए । समान विचार भएका व्यक्ति, समूह र दलसँग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय समेत गरिएको छ ।
‘राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग र जनजीविकाका सवाललाई लिएर विरोध सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरणसभा हुनेछ भने चैत महिनामा काठमाण्डु केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ,’ उनले भने ।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा निर्वाचन क्षेत्रमा कुनै पनि पार्टीसँग नमिलिकन निर्वाचन जितेर देखाउने दाबी समेत गरेका छन् ।
राप्रपाले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूको राहदानी, भिसा नवीकरण लगायतका समस्याको सहज समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
ताप्लेजुङको पाथीभरा मुकुलुङ क्षेत्रमा केबुलकार निर्माणका क्रममा स्थानीयमाथि भएको प्रशासनिक हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पवित्र धार्मिक क्षेत्रलाई शान्त राख्न संवाद र सहमतिको बाटोबाट अघि बढ्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया