काठमाण्डु- बारामा भएका सवारी दुर्घटनामा एक युवक र एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक बालिका र एक युवक घाइते भएका छन् ।
बाराको आदर्शकोतवाल र कलैयामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका डीएसपी प्रकाश सापकोटाका अनुसार आइतबार राति कलैया उपमहानगरपालिका ४ स्थित नेपाल बैंक अगाडि कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहटको बृद्धावन नगरपालिका–३ विश्रामपुर निवासी ४० वर्षीया बबिता ठाकुर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको बाराकै परवानीपुरस्थित एलएस अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बबिताकी छोरी ११ वर्षीया मोनी ठाकुर घाइते भएकी छन् । उनको एलएस अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि ट्यांकर चालक फरार भएका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी आदर्शकोतवाल गाउँपालिका ६ लौकाहामा भारतीय नम्बर प्लेटको बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३ ००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भारतको बिहारका २५ वर्षीय आदित्यकुमार पाठक छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डक अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकको पछाडि सवार रौतहटको गौर नगरपालिका १ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ ।
मोटरसाइकलाई ठक्कर दिएर फरार भएको भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।




प्रतिक्रिया