९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो, कुमारी बैंकले अगुवाइ गर्ने

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो, कुमारी बैंकले अगुवाइ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा शुक्रबार लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभू बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ‘डिउ डिलिजेन्स स्टडी’ अगाडिे बढाएको कम्पनीका अध्यक्षले बताए । यहीँ समूहबाट हाल सेतीखोला हाइड्रो पावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक ०१ गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ वैशाख २२ गते रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ ।