पेन्सनपट्टा बनाइदिन घुस लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पेन्सनपट्टा बनाइदिन घुस लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले किताबखानाका शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा (निवृत्तभरण अधिकार पत्र) बनाई दिनको लागि बिभिन्न बहाना बनाई तीन लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

शाखा अधिकृत धनेश्वर प्रसाई र कार्यालय सहयोगी भवानी अधिकारीलाई बिगो तीन लाख रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी गरिएको छ ।

साथै बिचौलिया सुदर्शन न्यौपानेलाई बिगो तीन लाख कायम गरी मुद्दा दायर भएको छ ।