काठमाण्डु – नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज बस्ने भनिएको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल गृहजिल्ला चितवनबाट नफर्किएपछि स्थगित भएको हो ।
सचिव दीनानाथ शर्माले बैठक सोमबार बिहान ११ बजे दाहाल निवास खुमलटारमा बस्नेछ । यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक दाहालको कार्य व्यस्तता देखाउँदै दिउँसो २ बजेलाई सारिएको थियो ।
सोमबारको बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय हुनसक्ने नेताहरूले बताएका छन् । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी माघ १ गतेसम्म हेरफेर गर्ने निर्णय गरेको थियो ।
कार्यदलमा भुसालसहित उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन् । कार्यदलले माघ २ गते बसेको पदाधिकारी बैठकमा प्रस्ताव पेस गरेको थियो ।




प्रतिक्रिया