नेदरल्यान्ड्ससँग दोस्रो खेलमा पराजित भएपछि नेपालको उपाधि यात्रा कठिन

नेदरल्यान्ड्ससँग दोस्रो खेलमा पराजित भएपछि नेपालको उपाधि यात्रा कठिन


काठमाण्डु– काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले दिएको १४१ रनको लक्ष्य नेपालले भेटाउन सकेन ।

नेपालले ८ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु वर्माले ३०, सम्झना खड्काले २३, पुजा महतोले १८, कविता जोशीले १४ रनको योगदान दिए । अन्य खेलाडीले राम्रो रन ल्याउन सकेनन् ।

नेदरल्याण्ड्सका तीन खेलाडीले २, २ विकेट लिए ।

यसअघि पहिला बलिङ गरेको नेपालका लागि सिता राना मगरले ५ विकेट लिएकी थिइन ।

नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो । आज पनि पराजित भएपछि नेपालको उपाधि यात्रा कठिन बनेको छ । नेपालले बिहीबार नेदल्र्यान्ड्ससँगको पहिलो खेल र शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन् । हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।