विराटनगर – सहकारी ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भु रौनियार पुर्पक्षका लागि जेल चलान भएका छन् ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आईतबार रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
अदालतको आदेशपछि रौनियार पुर्पक्षका लागि मोरङ कारागार चलान भएका मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सहकारी ठगी मुद्दामा रौनियार मुख्य अभियुक्ति रहेकामा पक्राउ पुर्जी जारी भएको १०० दिनपछि सोमबार रौनियार अदालतमा उपस्थित भएका थिए ।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा असोज २ गते अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि फरार रहेका उनी सोमबार कानून व्यवसायी ल्याएर अदालतमा उपस्थित भएका थिए ।
मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबीसहित मंसिर २७ गते मुद्दा दायर भएको थियो ।
गत पुस २४ गते अदालतमा उपस्थित भएकी सहकारीकी पूर्वसञ्चालक अन्जला कोइराला १० लाख धरौटीमा रिहा भएकी छन् । मुद्दामा हालसम्म ५ जना अदालतमा उपस्थित भएका छन् ।




प्रतिक्रिया