अब बिचौलियाका आँखा धितोपत्र बोर्डमा गएका छन् : अध्यक्ष प्रचण्ड

अब बिचौलियाका आँखा धितोपत्र बोर्डमा गएका छन् : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सरकारले चोर बाटो खोजिरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दैछ ।’

उनले सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । ‘अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आईपीओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमै मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्बाैं ऋणको दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो । मिलाइयो, चोख्याइयो, जोगाइयो ।’

सरकारले सांसदहरूको समर्थनलाई अपराधी चोख्याउने सुनपानी बनाइरहेको उनले बताए । उनले भने, ‘सत्तापक्षका माननीयहरू, दुःख नमान्नुहोला, तपाईंहरूको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ ।’

दूरसञ्चार फ्रिक्वेन्सी खुला प्रतिस्पर्धाबाट वितरण हुनुपर्ने उनले बताए । ‘म तपाईंहरूलाई यही रोष्टमबाट भन्छु, दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ । दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति । त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ ।’