निरन्तर चौथो दिन ओरालो यात्रामा नेप्से, कारोबार रकम पनि घट्यो

निरन्तर चौथो दिन ओरालो यात्रामा नेप्से, कारोबार रकम पनि घट्यो


काठमाण्डु – नेप्से परिसूचक आज चौँथो दिन पनि घटेर बन्द भएको छ।अघिल्लो साता पछिल्ला तीन कारोबार दिन घटेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा ओर्लिएको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.२५, फ्लोट इण्डेक्स ०.८३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ।

आज कारोबार रकम पनि घट्यो । बिहीबार ९ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । गार्डियन माइक्रो लाइफको शेयर आजबाट दोस्रो बजारमा कारोबारमा आएको हो। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको यस दिन ३१ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।