काठमाण्डु- नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तिव्र दौडधुप सुरु भएको छ । गर्भनर महाप्रसाद अधिकारीको बर्हिगमन हुने दिन नजिकिंदै गर्दा नयां गर्भनर बन्न दौडधुप सुरु भएको हो ।
गर्भनर अधिकारीको कार्यकाल आगामी चैत्र २५ मा सकिंदैछ । उनि त्यसअघि नै विदामा बस्नेमा रहेको स्रोत बताउंछ । गर्भनरका लागि अहिले एक दर्जन नाम चर्चामा छ । तर, त्यसमध्ये केही नाम सर्ट लिष्टमा परिसकेका छन् । एमाले गर्भनर कुनै पनि हालतमा नछोडनेमा छ ।
आफु निकटलाई गर्भनर बनाउन अहिले व्यवसायी, नेता र स्वार्थ समूह दौडधुपमा लागेका छन् । केन्द्रीय बैंकको गर्भनर निकै महत्वपूर्ण पद भएकाले सत्तारुढ दलभित्र समेत यसबारेमा गम्भिर छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समेत यसबारेमा छलफल भइसकेको छ । दुवै नेताबीच भएको छलफलमा स्वच्छ छवि भएको, अर्थतन्त्र बुझेको र स्वार्थ समुहबाट नचल्नेलाई गर्भनर बनाउनेमा अनौपचारिक सहमति भएको बुझिएको छ । धितोपत्र बोर्डको अध्यक्ष नेपाली कांग्रेस निकट सन्तोषनारायण श्रेष्ठ बनिसकेको अवस्थामा गर्भनर एमाले निकट बन्ने लगभग निश्चित छ ।
एमालेभित्र पार्टी निकटलाई गर्भनर बनाउनेमा नेताहरु एकमत छन् । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिलाई समेत चलाउन सक्ने स्वार्थ समूह भने आफु निकटलाई गर्भनर बनाउन लागिरहेको बुझिएको छ । कांग्रेस सभापति देउवाले त आफु निकट नेता प्रकाशशरण महतलाई व्यापारीको नाम लिएर गर्भनर नियुक्तिबारे उनैसंग सल्लाह गरेर अघि बढ्न भनेको स्रोतले दावी गरेको छ ।
‘अर्थतन्त्र समस्यामा रहेको बेला देशको अर्थतन्त्रलाई बुझ्ने र त्यहीअनुसार काम गर्न सक्ने मान्छेलाई केन्द्रीय बैंकको जिम्मा लगाउने कुरा छ । तर,आफु निकटकालाई बनाउन स्वार्थ समूह पनि त्यत्तिकै सक्रिय छ । ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
गर्भनरका लागि बमबहादुर मिश्र, नीलम ढुंगाना, चिन्तामणी शिवाकोटी, डा. प्रकाश कुमार श्रेष्ठ, गुणाकर भट्ट, सुशील भट्ट, ज्ञानेन्द्र ढुंगाना र रामेश्वर खनाललगायत दौडमा छन् ।
सरकारले गर्भनर नियुक्तिको लागि अर्थमन्त्रीको संयोजकत्वमा छनौट समिति बनाउने तयारी गरिसकेको छ । जसमा राष्ट्र बैंकका एक पूर्व गर्भनर र एक विज्ञ सदस्य रहनेछन् । त्यसैले सिफारिस गरेको आधारमा ३ जनाको नाम मन्त्रिपरिषद्को बैठकमा पेश हुने र त्यसैमध्येबाट गर्भनर बनाउने ऐनमा उल्लेख छ ।
स्रोतले दिएको जानकारीकाअनुसार राष्ट्र बैंकको गर्भनरका लागि प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र ढुंगाना र रामेश्वर खनालमध्ये एक जना बन्ने पक्कापक्की छ । त्यसमध्ये पनि एमालेभित्र महासचिव शंकर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई बोकेका छन् भने खनाललाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले बोकेका छन् ।
प्रधामन्त्री ओली र कांग्रेस सभापति देउवा निकट व्यापारी दीपक भट्टले आफ्ना दाई शुसिल र निलम ढुंगानालाई गर्भनर बनाउन लविङ गरिरहेका छन् । उद्योगपति विनोद चौधरी नबिल बैंकका कार्यकारी ढुंगानालाई गर्भनर बनाउन लागि परेका छन् ।




प्रतिक्रिया