काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले देशको इतिहास मेटिँदै र नेपालको अस्तित्व नासिँदै गएको चिन्ता व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने बताए ।
‘हाम्रो इतिहासलाई नास गरेर, पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौं भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमी–कमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटि सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्,’ उनले भनेका छन्, ‘आज देशको इतिहास मेटिँदै गएको छ। नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मिँदै नेपालीको शीरमा हजारौं हजार होइन, लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी हुँदैछ । हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् ।’
नेपालको पद्धति, नीति र गतिविधि पनि ठीक नभएको उनले बताए । ‘यहाँ बसेर केही हुँदैन भन्नेखालको श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ तर ३ दशकयताको हाम्रो स्थिति यस्तो छैन,’ उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशवासीलाई आह्वान गरे । ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैं हुनेछ । राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौं,’ उनले भने, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौं ।’
देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै सत्ता त्याग गरेको स्मरण गर्दै उनले त्यागलाई कमजोरीको रूपमा नलिन चेतावनी दिए ।
‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो । हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो,’ उनले भने ।
निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने उनले बताए । ‘सुन्दर शब्द र आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवा भाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ, सबैको पहिचान हुनुपर्दछ । सबैको अस्तित्व सुरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ–आफ्नो खालको स्वार्थ तथा राष्ट्रवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन,’ उनले भने ।
व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा भएको उनले बताए । ‘आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा हो,’ उनले भने ।




प्रतिक्रिया