काठमाण्डु- नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको १० औं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार सोमबारबाट निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । तर मनोनीत गरिएका ४६ जना अधिवेशन प्रतिनिधिको नामावलीको विषयमा कुरा नमिल्दा प्रक्रिया आरम्भमा बिलम्ब भएको नेताहरूले बताएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार सोमबार मनोनयन दर्ता गरिएको छ र साँझ ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान हुनेछ । मतदान गणना एमाले जिल्ला कार्यालय पाञ्चनालीको भवनमा हुने तय भएको छ ।
अधिवेशनमा ९१४ जना प्रतिनिधि छन् । निर्वाचनले १ अध्यक्षसहित ५ जना पदाधिकारी र १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । गत वर्ष नै हुनुपर्ने जिल्ला अधिवेशन प्रतिनिधि छनोट लगायतका कारण हुन सकेको छैन् ।
जिल्ला अधिवेशन उद्घाटनका क्रममा केन्द्रबाट गएका शीर्ष नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिएका थिए । उनीहरूले सर्वसम्मत नेतृत्व चयन गर्न भने पनि जिल्लामा प्रष्ट रूपमा दुई वटा गुट देखिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडा र अर्का नेता विनोद ढकालले छुट्टूछुट्टै गुटको नेतृत्व गरिरहेका छन् । ढकाल प्रदेश अधिवेशनमा अध्यक्षमा गत वर्ष खतिवडासँग पराजित भएका थिए ।
कुनै बेला अध्यक्ष केपी शर्मा ओलीको अत्यन्त निकट नेता मानिने ढकाल अहिले ओली पक्षबाट किनाराकृत बनेका छन् । ओलीको पेलानमा परेका ढकालले अहिले जिल्लामा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुटको नेतृत्व गरिरहेको नेताहरू बताउँछन् ।
प्रदेश अध्यक्षमा हारेका ढकालको शक्ति जाँच्ने मौकाका रूपमा अधिवेशनलाई हेरिएको छ । जिल्ला अध्यक्षमा राजकुमार ओझा र अजम्बर राईले पनि उम्मेदवारी दिएका छन् । उनीहरू दुवै आइतबारबाटै मत माग्न व्यस्त छन् ।
कोशी प्रदेशका पूर्वसांसद तथा पूर्वराज्यमन्त्री ओझा संस्थापन र मोरङ जिल्ला समन्वय समितिका प्रमुख राई इतर समूहको रूपमा मैदानमा उत्रिन लागेका हुन् । ढकालले राईलाई च्याप्दा प्रदेश अध्यक्ष खतिवडा, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई, भीम आचार्यलगायतले ओझालाई समर्थन गरेका छन् ।
ओझाले उपाध्यक्षमा शान्ति भुजेल, सचिवमा रविन थापालाई अघि सार्ने तयारी गरेको छ भने दुई उपसचिवको उम्मेदवार टुंगिन बाँकी छ । यद्यपि संस्थापनबाट उपाध्यक्षमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउन केन्द्रबाट निर्देशन आएको केही नेताहरू बताउँछन् । संस्थापनबाट शान्ति र शिल्पा दुवैको नाममा छलफल चलिरहेको छ ।
यता राईको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवमा उषा झा र सन्तोष बान्तवालाई अघि सार्ने तयारी छ । दृश्यमा ढकाल र खतिवडाबीच प्रतिस्पर्धा देखिएपनि पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीको लागि पनि प्रतिष्ठाको विषय बनेको छ । ओलीको गृह प्रदेशको महत्वपूर्ण जिल्ला मोरङ पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक थालनीको केन्द्र र जननेता मदन भण्डारीको क्षेत्र पनि हो ।




प्रतिक्रिया