काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी चैत २६ गते काठमाण्डुमा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।
मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, देशभित्र रोजगारी सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम आयोजना गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जनप्रदर्शनअन्तर्गत चैत १ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना र प्रदर्शन गरिनेछ । चैत ८ र ९ गते हेटौंडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण आयोजना गर्ने निर्णय राप्रपा नेपालले गरेको छ ।
चैत १४–१८ गतेसम्म काठमाण्डु उपत्यकाका १० वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने निर्णय गरिएको छ ।
चैत २२ गते राष्ट्रिय सभागृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला आयोजना गर्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया