डिपोर्ट भएका ९ नेपाली कसरी पुगेका थिए अमेरिका ?

डिपोर्ट भएका ९ नेपाली कसरी पुगेका थिए अमेरिका ?

कोलम्बियाको जंगलमा ४ दिनको पैदल यात्रा गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भनिन्छ अमेरिका सपना बेच्ने देश हो । जसका लागि संसारभरका मानिस अमेरिका जान तयार हुन्छन् ।

यो सपना पूरा गर्न हरसम्भव प्रयास गर्छन् र लाखौं, करोडौं खर्च गर्न तयार हुन्छन् । यसका लागि उनीहरू जोखिम र खतरा उठाउन पनि पछि पर्दैनन् ।

यसरी अमेरिकी सपनामा भुलेर त्यहाँ पुगेका ९ नेपाली बुधबार डिपोर्ट भएका छन् । आवश्यक काजगपत्र केही नभएको र अवैध बाटो भएर अमेरिका पुगेका उनीहरू अमेरिकी धर्ती टेक्दै त्यहाँको प्रशासनको नजरमा परेका थिए ।

अवैधानिक रूपमा बसिरहेका ९ नेपालीहरूलाई लिएर अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टड जहाज काठमाडौं आयो ।

आधिकारिक कागजातबिनै अमेरिकामा बसेका ८ जना नेपालीलाई लिएर अमेरिकाबाट चार्टड जहाजले उनीहरूलाई काठमाडौं ल्याएर छोडिदिएको हो । ती मध्ये एक महिला र सात पुरुष छन् । डिपोर्ट भएकी एक महिला व्यवसायिक विमानबाट बुधबार नै काठमाडाै आइपुगिन् ।

अमेरिकी प्रशासनले अवैधानिक आप्रवासी निष्कासन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २८ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको यो पहिलो पटक हो ।

राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५ हजार नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । तर ट्रम्प राष्ट्रपति बनेपछि अप्रावासी नीतिमा कठोर बन्दै अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ । २०१९ देखि २०२४ सम्म ३८९ नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएका छन् ।

कसरी पुगे अमेरिका ?

डिपोर्ट भएर आएका नेपालीहरू ‘डंकी रुट’ अर्थात् अवैध बाटोबाट ५/६ महिनाअघि मात्र अमेरिका पुगेका हुन् ।

नेपाल आइपुगेपछि उनीहरूलाई अध्यागमन विभाग हुँदै नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको थियो । प्रहरीले उनीहरूसँग गरेको सोधखोजमा अवैध बाटोबाटै त्यहाँ पुगेको खुलेको छ ।

यति मात्र होइन, अमेरिका जान उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म खर्च गरेका छन् ।

फर्किएका नेपालीहरूले प्रहरीसमक्ष दिएको बयानअनुसार उनीहरू जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर अमेरिका पुगेका थिए । त्यहाँ पुगेलगत्तै कतिपय त समातिएका पनि थिए ।

उनीहरू काठमाडौंबाट दिल्ली हुँदै मध्यपूर्व, मध्यपूर्वबाट युरोप र युरोपबाट साउथ अमेरिकाको ब्राजिलसम्म पर्यटक भिसामा गएका थिए ।

ब्राजिल पछि उनीहरूलाई मेक्सिकोसम्म पुर्याएको थियो । त्यसपछि उनीहरू अमेरिकाको लस एन्जलस र टेक्सस छिरेका थिए । यसअघि पनि अमेरिकाबाट फर्काइएका नेपालीहरू त्यसरी नै दलाललाई लाखौँ रुपैयाँ बुझाएर अमेरिका पुगेको प्रहरीको भनाइ छ ।

बुधवार नेपाल आइपुगेका नेपालीहरू पनि त्यसरी नै पुगेको प्रहरी समक्ष बयानमा भनेका छन् । अमेरिकाबाट डिपोर्ट भएका उनीहरूलाई प्रहरीले परिवारको जिम्मा लगाइ सकेको छ ।

के हो प्रवेश बाटो ?

विश्वका कुनै पनि देशबाट अमेरिका प्रवेश गर्न दक्षिण अमेरिकाको ब्राजिल, बोलिभिया, सुरिनाम, गुयना, पेरु र चिली मध्ये कुनै एक देशमा हवाईमार्गबाट जानु पर्छ । त्यहाँ रहेको दलालहरूले अत्यन्तै जोखिमका साथ स्थल वा जलमार्गमार्फत् मेक्सिको पुर्याउँछन् । मेक्सिको अमेरिका प्रवेश गर्ने एकमात्र प्रवेश मार्ग हो ।

यी देशहरू पुगेपछि स्थानीय एजेन्टले पैसा लिएर स्थानीय नाममा नक्कली पासपोर्ट बनाइ दिन्छन् ।

यसरी अमेरिका छिर्ने सपना बोकेकाहरूलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिको पुर्याइन्छ । ९८ प्रतिशत अप्रावासीहरू यसरी नै अमेरिका प्रवेश गर्छन् ।

बाटोमा रुट पर्ने हरेक देशका स्थानीय दलालहरूसँग पहिला नै सेटिङ भएको हुन्छ । उनीहरूले आफ्नो देशको सीमा कटाएर अर्को देशको सीमासम्म छोडिदिन्छन् । त्यहाँबाट अर्को देशको दलालको जिम्मा लिन्छन् । त्यसपछि क्रमशः अर्को देशको दलालले यो काम गर्छ ।

नेपालबाट हिंडेका व्यक्ति विभिन्न देशका दलालहरूको भर पर्दै अमेरिका प्रवेश गर्छन् । ट्रान्जिट, भिसा र अन्य प्रक्रियाको सेटिङ पनि दलालले नै मिलाइदिन्छ । दलालहरूले खानपान र बासको व्यवस्था मिलाउँछन् ।

धेरै नेपाली, भारतीय, बंगलादेशीहरू यहि अबैध बाटो भएर सपनाको देश अमेरिका पुग्छन् । अमेरिका पुग्न कोलम्बियाको घनघोर जंगल पार गर्नुपर्छ । कोलम्बियाको नर्जन जंगलको ४ दिनको पैदल यात्रा पछि पनामा पुगिन्छ ।

जंगलको बाटो भएर जाँदा कतिपयले बाटोमै प्राण त्यागछन् । तर, अलि खर्च गर्नेहरूलाई हवाइजहाज र हेलिकप्टर चार्टडको व्यवस्था दलालहरूले गरिदिन्छ ।

अबैध बाटो भएर अमेरिका जानेहरूमा दक्षिण एशियामा भारतीय सबैभन्दा धेरै छन् । दोस्रोमा बंगलादेशी छन् भने तेस्रोमा नेपाली