पूर्वराजाको संकेतले हौसिएको राप्रपा : राजसंस्था फर्काउने बाटो सडक कि संसद् ?

पूर्वराजाको संकेतले हौसिएको राप्रपा : राजसंस्था फर्काउने बाटो सडक कि संसद् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २०६३ वैशाख ११ गतेको शाही घोाषणाबाट राजगद्दी त्याग गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं ।’

राजतन्त्र अन्त्य भएको २०औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाह फेरि सक्रिय हुन थालेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले शुभकामना सन्देश दिँदै साथ दिन देशवासीलाई आह्वान गरे । भिडियो सन्देशमा उनले भने, ‘देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुने छ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो ? हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं ।’

पूर्वराजा शाहले ‘अब समय आयो’ भन्दै साथ खोजेको संकेत गरेपछि राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वराजाको पक्षमा खुलेरै लागेको छ । पार्टीका अभियान, गतिविधि र कार्यक्रमलाई राप्रपाले राजसंस्था केन्द्रित गरेको छ । सँगसँगै राप्रपाले हिन्दूराष्ट्रको एजेन्डालाई पनि उठाउँदै आएको छ ।

पूर्वराजा शाहले देशको वर्तमान अवस्थामा केही समस्या पनि औंल्याएका छन् । उनले भनेका छन्, ‘हाम्रो इतिहासलाई नाश गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौं भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटि सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।’

संसद्को पाँचौं ठूलो दल राप्रपाले पूर्वराजाको फागुन ७ गतेको सन्देशलाई आधार बनाएर देशका विभिन्न स्थानमा र्‍याली र सभा गरिसकेको छ । पूर्वराजाको सन्देश बाहिरिएलगत्तै राप्रपाले विज्ञप्ति निकालेर सन्देशको स्वागत गरेको थियो ।

राप्रपाका र्‍याली र सभामा ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘हाम्रो राजा आउँदैछन्, नारायणहिटी खाली गर !’ जस्ता नारा लाग्दै आएका छन् । राप्रपाले राजसंस्थाको पुनःस्थापना, सनातन सापेक्ष हिन्दू अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्यको माग गर्दै आएको छ ।

राप्रपाले गरिरहेको कार्यक्रममा शक्ति प्रदर्शनको संकेत पनि देखिन्छ । मोटरसाइकल र्‍याली र गाउँगाउँबाट कार्यकर्ता बटुलेर राप्रपाले विभिन्न प्रदेशमा सभा गरिसकेको छ । काठमाण्डुमा गरिएको मोटरसाइकल र्‍यालीको भिडियोलाई राप्रपाले सामाजिक सञ्जालमा भाइरल गरेको छ ।

पूर्वराजा शाह यतिबेला गण्डकी प्रदेशका विभिन्न मन्दिर र शक्तिपीठमा पुगेर पूजाआजा गरिरहेका छन् । उनले प्रदेश राजधानी पोखराबाट विभिन्न मन्दिरको यात्रा गरिरहेका छन् । उनी फागुन २५ गते पोखराबाट काठमाण्डु फर्किने कार्यक्रम छ ।

पूर्वराजा ज्ञानेन्द्रले काठमाण्डु फर्किने क्षणलाई भव्य बनाउन राप्रपाले तयारी थालेको छ । राप्रपाले काठमाण्डुमा आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गरेर पूर्वराजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आमजनसमुदायलाई आह्वान गरेको छ । राप्रपाको केन्द्रीय नेतृत्वसँगै नेता–कार्यकर्ताहरूले काठमाण्डुका विभिन्न स्थानमा पूर्वराजा शाहको स्वागतलाई भव्य बनाउने तयारी थालिसकेका छन् । प्रतिनिधिसभा सदस्य तथा राप्रपा नेता ज्ञानबहादुर शाहीले बिहीबार काठमाण्डुका विभिन्न स्थानमा राप्रपाका नेता–कार्यकर्तासँग भेटघाट गरेका छन् ।

राप्रपाले राजसंस्थाको पक्षमा योजनावद्ध सक्रियता बढाए पनि राजसंस्थाको वैधानिक पुनरागमनको बाटो स्पष्ट पारेको छैन । राप्रपा सडक आन्दोलनबाटै राजसंस्था र हिन्दूराष्ट्र फर्काउन चाहन्छ कि संसद्बाट ? तैपनि राप्रपाले राजसंस्थाको पक्षमा माहोल बढाउने काम गरिरहेको छ ।

फर्किन सक्छ त राजसंस्था ?

राजसंस्था फर्काउने २ बाटा छन्, एउटा सडक संघर्ष र दबाब र अर्काे संसद्बाट संविधान संशोधन । यथास्थितिमा राप्रपाले संसद्मा दुईतिहाइ बहुमत जुटाएर संविधान संशोधन गरेर राजसंस्था फर्काउन सक्ने सम्भावना छैन । आगामी २०८४ सालमा हुने संसद्को अर्काे निर्वाचनमा पनि राप्रपा वा राजसंस्था पक्षधरले दुईतिहाइ बहुमत ल्याउने सम्भावना छैन । किनकि समानुपातिक निर्वाचन प्रणाली कायमै रहेको अवस्थामा दलहरूले सामान्य बहुमत ल्याउन पनि अप्ठ्यारो परिरहेको छ ।

राजसंस्था पुनःस्थापनाको वैधानिक बाटो संविधान संशोधन नै हो । तर दबाबमूलक बाटो सडक संघर्ष पनि हो, जसको सामान्य सुरुआत राप्रपाले गरिसकेको छ । राप्रपाले सडक संघर्षलाई बढाउँदै लैजाने तथा सरकार र अन्य राजनीतिक दललाई राजसंस्था पुनःस्थापनाका लागि बाध्य पार्ने अर्काे उपाय हुनसक्छ, जुन उपाय राजतन्त्र अन्त्यका लागि तत्कालीन ७ राजनीतिक दलले अपनाएका थिए । दबाबमूलक संघर्षबाट राजालाई हटाएर सत्ता हातमा लिएपछि निर्वाचन र संविधान सभाबाट त्यसलाई संस्थागत गरिएको थियो ।

तर दबाबमूलक बाटो अप्रिय हुन्छ । राजतन्त्र अन्त्यका लागि भएको जनआन्दोलनमा पनि थुप्रै जनधनको क्षति भएको थियो । राप्रपाले दबाबमूलक बाटोबाट राजतन्त्र फर्काउने हो भने फेरि देशमा एकपल्ट अशान्तिको वातावरण बन्ने अवस्था आउँछ । फागुन ७ गतेको पूर्वराजा ज्ञानेन्द्रको सन्देशसँगै राप्रपाले जुन गतिमा तीव्रता बढाएको छ, यसले राप्रपा अझै योजनावद्ध रूपमा आन्दोलनमा होमिने संकेत गरेको छ ।

‘नवीन समझदारी’ होला ?

राप्रपाले राजसंस्था फर्काउन ‘नवीन समझदारी’ हुनुपर्ने माग राखेको छ । नवीन समझदारी भनेको सबै दलहरू राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनामा सहमत हुनु हो । संसद्मा राप्रपाको बलियो उपस्थिति नभएकाले सडकबाटै दबाब नदिएर नवीन समझदारीको वातावरण बनाइने राप्रपा केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग उपप्रमुख खुस्बु ओलीले बताइन् । ‘अहिलेको परिस्थितिमा सडकबाटै राजसंस्था पुनःस्थापित हुन्छ, संसद्बाट सम्भव हुँदैन । हामीले नवीन समझदारीको कुरा गरेका छौं, सबै दलहरू सहमतिमा आउनुपर्छ,’ उनले भनिन्, ‘सडकबाटै दबाब दिने हो ।’

सडक आन्दोलन चर्काउँदा अप्रिय अवस्था आउनसक्छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘हामी हिंसामा विश्वास गर्ने पार्टी होइन । लडाइँ गर्ने, मान्छे मार्ने उद्देश्य होइन । यसअघि हामी सडकमा जाँदाखेरी सरकारबाट बल प्रयोग भएको थियो, १ जना शहीद पनि हुनुभएको छ, राज्यले हामीलाई रोक्न खोजे दुर्घटना हुनसक्छ ।’

गणतन्त्रवादीहरूप्रति यतिबेला जनतामा आक्रोश बढेकाले नवीन समझदारीमा आउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताइन् । ‘जनताले नै गणतन्त्रवादीहरूलाई रुचाइराखेको छैन । केपी ओली कपको फाइनलमा त्यत्रो विरोध भयो । नेताहरू जहाँ जान्छन्, त्यहाँ विरोध र राजा जहाँ जान्छन्, त्यहाँ स्वागत भइरहेको छ । उहाँहरूले भोलि देशै छाडेर जानुभन्दा नविन समझदारीमा आउनुपर्छ ।’

हिन्दूराष्ट्रका पक्षमा सत्तारुढ दल नेपाली कांग्रेसभित्र हस्ताक्षर संकलन नै भइसकेको उनले स्मरण गरिन् । ‘पार्टीहरूभित्र, कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर भइरहको छ । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था राख्ने ठाउँमा आउनेबाहेक उहाँहरूसँग अर्काे विकल्प छैन ।’