काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुका साथै प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन् ।
सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो २ बजे बस्ने छ । मुख्यमन्त्री कँडेलले प्रधानमन्त्रीलाई स्वागत गर्ने छन् भने लगतै विशेष सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार ओलीको सचिवालयका अनुसार सुर्खेत विमानस्थलबाट प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डा. लिलाधर तिवारीका अनुसार प्रधानमन्त्री ओली विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले दीक्षान्त दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन् । सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको समेत उपस्थिति रहने दीक्षान्त समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन वर्षको ब्याजका तीन जनालाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, डीन लिष्टमा परेका स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जनाले प्रमाणपत्रसहित पदक पाउने छन् । दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् ।
दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ । प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन् । सानो सुर्खेतमा रहेको इन्जिनियरिङ भवनको उख्घाटनपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्नेछन् ।
आगामी जेठमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तय गरिएको रंगशाला निरीक्षण गर्न उनी चार बजे पुग्ने कार्यक्रम छ । रंगशाला निरीक्षणपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।




प्रतिक्रिया