काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’
भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा डोटीमा उनले लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने बताए ।
‘आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ,’ उनले थपे ।
लोकतन्त्रविरुद्ध अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । समाज विकासको विज्ञानले समाज पछि फर्किंदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ । उनले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिए ।
अर्को प्रसङ्गमा गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको बताएका छन् । सरकार गठनपूर्व नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने उनले बताए ।




प्रतिक्रिया