काठमाण्डु – आर्थिक हिनामिना आरोपमा जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरिएको छ ।
जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै ४ बुँदे स्पष्टीकरण सोध्दै यादवलाई कोषाध्यक्ष पदबाट निलम्बन गरेको छ ।
अनुशासन विभाग प्रमुख अनिता मण्डलले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले जनमत पार्टीको विधान २०७५ को धारा ३९(क) को उपधारा १, २, ३, ४, ५, ६, ८, १०, १३, १४ उल्लंघन गर्नुभएकोमा तपाईंमाथि किन कारबाही हुनु नपर्ने हो ? ७ दिनभित्र स्पष्टीकरण दिन हुन अनुरोध छ । साथै कारबाही प्रक्रियाभर तपाईं राष्ट्रिय कोषाध्यक्ष पदबाट समेत निलम्बन रहने व्यहोरा सूचित गरिन्छ ।’
कोषाध्यक्ष यादवका साथै गैरआवासीय मधेशी संघका पूर्वअध्यक्षहरू ई. वसन्तकुमार कुशवाहा र ई. शम्भुनाथ साहले पार्टीको जानकारी र अनुमति विना संघका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी नेता, कार्यकर्ताबाट करौडौं रूपैयाँ उठाएको स्पष्टीकरण पत्रमा भनिएको छ ।
कोषाध्यक्ष यादवले ठगी गरेको उजुरीका आधारमा पटक–पटक अनुरोध गर्दा पनि हरहिसाब नबुझाएर उल्टो दम्भ देखाउँदा पार्टीमाथि नै असर पुगेको जनमत पार्टीको ठहर रहेको छ ।
यस्तो छ आरोप –
१. पार्टीको राष्ट्रिय कोषाध्यक्ष जस्तो ठुलो पदमा दिनहुँ काम पर्ने जिम्मेवारीमा बसेको तर आफ्नो पदको अधिकांश समय विदेश (संयुक्त राज्य अमेरिका, कतार र अन्य देशमा) नै बसेको, पार्टीको दैनिक गतिविधिको लागि समय दिन नसकेको, पार्टीका महत्त्वपूर्ण बैठक र कार्यहरूमा सहभागिता नदेखाएको । लगातार केन्द्रीय सचिवालय समितिको बैठकमा महिनौँसम्म अनुपस्थित रहेको। गैरआवासीय मधेसी संघको कोषाध्यक्ष र जनमत पार्टीको कोषाध्यक्षको रूपमा काम गर्दा पार्टीले हिसाब माग्दा हिसाब नदिने, हरेक पटक हिसाब हेरफेर गर्ने, झुटा हिसाब देखाउने गरेको।
२. प्रतिनिधि सभाको निर्वाचन २०७९ मा खासगरी सप्तरी – १ र सप्तरी-२ केही ठुला नेता कार्यकर्ताहरूलाई भड्काएर, निष्क्रिय बनाउन लगाई त्यहाँका उम्मेदवार डा. जयकान्त राउत र राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतलाई पराजित गर्ने उद्देश्यले भूमिका निर्वाह गरेको। बाराको उपनिर्वाचनमा पनि जनमत पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको।
३. निर्वाचन २०७९ पश्चात् जनमत पार्टी राष्ट्रिय पार्टीको रूपमा स्थापित भएदेखि नै पार्टीको विरोधमा सामाजिक सञ्जालमा लगातार पोस्ट गरेको, पार्टीका देश तथा विदेशमा रहेका कार्यकर्ताहरूलाई पार्टीको विरोधमा लबी गरेको, गैरआवासीय मधेसी संघका नेता कार्यकर्ताहरूलाई भड्काएर संगठन अस्तव्यस्त बनाएको, फोन, मेसेज र भेटघाट मार्फत लगातार पार्टीको विरोधमा जनमत पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई भड्काएर गुटबन्दी गरेको। जनमत पार्टी फोड्नका लागि विभिन्न व्यक्ति र समूहहरूसँग गुटबन्दी गरेको र जिल्ला(जिल्लामा तथा देश-विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फोड्नका लागि प्रयत्न गर्दै आएको।
४. पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेसी संघका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेवीका नाममा तपाईं तथा संघका पूर्व अध्यक्षहरू ई. बसन्त कुमार कुशवाहा, ई. शम्भुनाथ साहले करौडौँ पैसा उठाएर काठमाडौँको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घर र स्कुल चलाउने सहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाब वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सोको विषयमा पार्टीमा पटक(पटक ठगी गरेको भनेर उजुरी परे पछि तपाईंलाई पटक-पटक अनुरोध गर्दा पनि सो हरहिसाब उनीहरूसँग क्लियर नगरेको र उल्टा दम्भ देखाएको, यसले गर्दाखेरि पार्टीमाथि नै असर पुगेको।




प्रतिक्रिया