काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा १८ वर्ष देशलाई लुट्ने काम भएको आरोप लगाएका छन् ।
राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीले गतिविधि बढाएका बेला शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले राजाबाट सम्झौताको इमान्दार पालना भए पनि दलहरूले सम्झौता उल्लंघन गरेर राजसंस्था पाखा लगाएको दाबी गरे ।
‘गणतन्त्रको वकालत गर्नुहोस्, ठीक छ । विचार आ–आफ्नो हो तर राजालाई दया गरेर कारवाही नगरेको गफ नदिनुस् । जनता साक्षी छन् । २०६३ सालको आन्दोलन दरबार र दलहरूबीच सम्झौता भएर टुङ्गिएको हो । राजाले इमान्दारीपूर्वक सम्झौताको पालना भयो । तर दलहरूले आन्दोलनको रापताप र विदेशीको दबाबमा सम्झौता विपरीत राजसंस्था पाखा लगाउने काम गरे,’ उनले लेखे ।
देश र जनता लुट्ने काम भएपछि अहिले जनताले राजा खोजिरहेको अध्यक्ष थापाले बताए । ‘कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, युवालाई विदेश पलायन हुन बाध्य पार्ने र देश लुट्नेहरूलाई कारवाही गर्छन्,’ उनले लेखेका छन्, ‘त्यसैले डरत्रास देखाएर होइन, देश र जनतालाई केन्द्रविन्दुमा राखेर सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको विकास गरौं ।’




प्रतिक्रिया