काठमाण्डु – आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको दलतन्त्र नेताहरूको लुटतन्त्रमा परिणत भएकाले त्यसविरुद्ध तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताएका छन् ।
जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्नुपर्ने उनले बताए ।
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार काठमाण्डुको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै उनले अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको बताए ।
जनताको लोकतन्त्रका लागि अब निर्णायक आन्दोलनको विकल्प नभएको उनले बताए ।
उनले भने, ‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरूले लुट मचाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । यस्तो सरकारको विरोधमा नागरिक सडकमा आउनुको विकल्प छैन । जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन म सबैमा आह्वान गर्छु । अब जनताले नै हो लोकतन्त्र जोगाउने, अरू कसैले सक्दैन ।’




प्रतिक्रिया