ज्ञानेन्द्रको ‘प्रिय’ बन्ने दौडमा लिङदेन र थापा

ज्ञानेन्द्रको ‘प्रिय’ बन्ने दौडमा लिङदेन र थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक महिना पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह काठमाडौं फर्कदै छन् ।

माघ २७ गते पोखरा गएका पूर्वराजा महिना लामो बसाइपछि आइतबार काठमाडौं फर्क लागेका हुन् । उनी यसअघि पनि पोखरा जान्थे र आउँथे । तर यसपटक उनको पोखरा बसाइ अन्य भ्रमणभन्दा फरक रह्यो ।

पोखरामा रहँदा उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्याएको छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिबाट राजावादीहरू उत्साहित भएका छन् भने गणतन्त्रवादीहरूमा भय र संशय देखिएको छ ।

काठमाडौं फर्कने क्रममा राजावादीहरूले विम्मात्मक रूपमा ‘राजा फर्कने दिन’ भन्दै उनको स्वागतमा काठमाडौंको विमानस्थलमा स्वागतको तयारीमा छन् ।

शाहको स्वागतका लागि कमल थापाको राप्रपा नेपाल सक्रिय छ । राप्रपा नेपालले शाहको स्वागतमा ५ लाखलाई उतार्ने दाबी गर्दै शाहलाई विमानस्थलदेखि उनको निवाससम्म स्वागत गर्ने जनाएको छ । यसका लागि अध्यक्ष थापा स्वयं विमानस्थल जाँदैछन् ।

पूर्वराजाको स्वागतमा राप्रपा नेपालले सक्रियता देखाएपछि राजेन्द्र लिङदनेको राप्रपाका कार्यकर्ताहरू पनि विमानस्थल जाँदैछन् । तर अध्यक्ष लिङदेन भने नजाने भएका हुन् ।

पूर्वराजाको पछिल्लो अभिव्यक्तिपछि हौसिएका राजावादीहरू अहिले उनको प्रिय बन्ने होडमा जुटेका छन् । यस पंक्तिमा राप्रपा नेपालका अध्यक्ष थापा पहिलो स्थानमा छन् ।

लिङदेन नेतृत्वको राप्रपाले विमानस्थल गेटदेखि गौशालासम्म पार्टीका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेतालाई स्वागतका लागि उतार्दै छ भने थापा नेतृत्वको राप्रपा नेपालले पनि सडकमा उभिएर शाहको स्वागत गर्ने कार्यकर्ता परिचालन गरेको छ ।

शाहको पोखराबाट फर्कने कार्यक्रमलाई स्वागतमा बदल्न दुवै अध्यक्षहरूले आ–आफ्ना दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

उता दुर्गा प्रसाइलगायतको राष्ट्र, राष्ट्रियता, कर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसहितका संघसंस्थाहरूले पनि शाहको स्वागतमा जुट्ने भएका छन् ।

राप्रपाको तर्फबाट स्वागत व्यवस्थापनको जिम्मा ज्ञानेन्द्र शाहीले लिएका छन् भने अभियानका तर्फबाट दुर्गा प्रसाइँलगायतको समुह सक्रिय छ । प्रमुख दलका शीर्ष नेताहरूले शाहलाई चुरीफिरी नगर्न चेतावनी दिइरहेकै बेला राजधानीमा उनको स्वागतमा उत्रिएको देखाएर राजा र राजतन्त्रको पक्षमा माहोेल खडा गर्ने राप्रपा र राप्रपा नेपालसहित अभियानकर्मीको लक्ष्य देखिन्छ ।

सरकारले मुठभेड नहोस् भनेर सुरक्षा व्यवस्थामा कडाइ पनि गरेको छ । उता आपफूलाई समर्थन गरिरहेका दल र शक्तिले गर्न लागेको स्वागतका विषयमा भने शाह मौन छन् ।

अहिले दुवै लिङ्देन र थापामा को बढी पूर्वराजा शाहका असली पक्षपाती हो भन्ने देखाउन होड नै चलेको छ । पहिला पनि पोखरासहित स्थानमा काठमाडौं आउँदा स्वागतमा नजाने उनीहरू अहिले जानुको अर्थ उनीहरू पूर्वराजाको ‘प्रिय’ रहेको देखाउन चाहेका छन् ।

पूर्वराजाको पछिल्लो अभिव्यक्ति राप्रपा र राप्रपा नेपाललाई ‘सञ्जीवनी बुटी’ भएको छ । राजासहितको प्रजातन्त्र, संघीयता खारेजी र सनातन हिन्दू राज्यको मागसहित राजनीति गरिरहेका यी दुइटै दललाई शाको मौनताले समस्यामा पारेको थियो । तर शाहको पछिल्लो अभिव्यक्तिबाट अहिले दुवै दल हौसिएका छन् ।

थापा र लिङदेन शाहलाई पुनः नारायणहिटी प्रवेश गराउने भन्दै सडकमा ओर्लिएका छन् ।

दुबैको ध्यान अहिले पूर्वराजाको काठमाडौं आगमनमा कसले बढी जस लिने भन्नेमा नै छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि त्यसको दोष पूर्वराजा ज्ञानेन्द्रलाई लगाएर पार्टीबाट अलग भएका थापा अहिले उनकै भक्तिगानमा लागेका छन् ।