काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सांसद जगप्रसाद शर्माले बढ्दै गइरहेका राजावादीका गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसकेकोमा प्रश्न गरेका छन् ।
आईतबार विशेष समय लिएर बोल्दै सांसद शर्माले राजावादीको नाममा भइरहेका गतिविधि नियन्त्रणमा लिन सरकारलाई आग्रह गरे ।
पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाण्डुस्थित विमानस्थलमा सयौं व्यक्तिहरू भेला भएको बेला सांसद शर्माले सरकारले राजावादीका गतिविधि नियन्त्रण गर्नुपर्ने बताए ।
उनले भने, ‘यो संविधान विरोधी हर्कत, व्यवस्था विरोधी, संघीयता विरोध क्रियाकलाप जे छन्, यो अराजकतालाई नियन्त्रण गर्न, कन्ट्रोल गर्न सरकार किन सकिरहेको छैन ?’
फेरि राजतन्त्र फर्काउने कुरा समाजका लागि सह्य हुन नसक्ने उनले बताए । ‘धेरै देशहरूमध्ये नेपाली समाजमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतीपूर्ण संघर्षबाट अढाइ सय वर्षदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्र अन्त्य गरेका हौं,’ उनले भने, ‘देशमा बढिराखेको अराजकता, संविधान विरोधी हर्कत सरकारले तुरुन्त नियन्त्रण गरोस् । कथित राजा फर्काउने नाममा जसले वंश विनाश गरे तिनैले जुन ढंगको नाटक मञ्चन गरिरहेका छन्, त्यसको नियन्त्रण सरकारले गरोस् ।’




प्रतिक्रिया