जनमत पार्टीमा विवाद बढ्यो, नेताहरूलाई एकपछि अर्को स्पष्टीकरण

जनमत पार्टीमा विवाद बढ्यो, नेताहरूलाई एकपछि अर्को स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीमा आन्तरिक विवाद चर्किएको छ ।

अध्यक्ष राउतले पार्टीका दुई वरिष्ठ नेताहरूलाई स्पष्टीकरण सोधपछि विवाद चर्केको हो । उपाध्यक्ष दीपककुमार साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई अध्यक्ष राउतले स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण नबुझाउँदासम्मका लागि उनीहरू निलम्बन गरिएको छ ।

पार्टी केन्द्रीय समितिको आइतबार महोत्तरीको बर्दिबासमा सुरु भएको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरू सहभागी थिएनन् । उनीहरूसँग शनिबार स्पष्टीकरण सोधिएको थियो ।

अध्यक्ष राउतले यसअघि पार्टीका अर्का उपाध्यक्ष अब्दुल खान, वसन्तकुमार कुशवाह, सचिव बिपी साह, भोपेन्द्रप्रसाद यादव र अनिता देवी, केन्द्रीय सदस्य शम्भुनाथ साह, शिवचन्द्र कुशवाहलगायतलाई पनि स्पष्टीकरण सोधेका थिए ।

यता राउतले केही नेताहरूलाई पार्टीबाट निष्कासन पनि गरेका छन् । पार्टीमा सक्रिय रहेका कैलाश महतो, रवीन्द्र यादवलगायत नेता पार्टीबाट निष्कासित भएका हुन् ।

राउतले समानुपातिक सांसद गोमा लाभलाई पदबाट निलम्बन गर्न सभामुखलाई चिठी पनि पठाएका थिए । राउतले लाभलाई पार्टीबाट कारबाही गर्दै निलम्बन गर्न सभामुखलाई आग्रह गरेका थिए । तर सभामुखले उनलाई निलम्बन गरेका छैनन् । त्यसकारण सभामुखसँग राउत चिढिएका छन् ।

केही दिन अघि राउतले पार्टी नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई समेत स्पष्टीकरण सोधेका थिए । ‘पार्टीमा स्पष्टीकरण सोध्नु र मन नपर्ने बित्तिकै निलम्बन गर्नु सामान्य हो’ स्पष्टीकरण सोधिएका कोषाध्यक्ष यादवले भने।

स्पष्टीकरण सोधिएका केही नेताले पार्टी छाडिसकेका छन् । भोपेन्द्रप्रसाद यादव, शिवचन्द्र कुशवाहलगायत नेताले स्पष्टीकरण नबुझाएर पार्टी छाडेका हुन् ।

एक नेताका अनुसार अध्यक्ष राउतका दाजु जयकान्त राउत हाबी हुँदा पुराना नेताहरूमाथि धमाधम स्पष्टीकरण सोध्ने काम भइरहेको छ ।