काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजावादीहरूको आईतबारको जनप्रदर्शन ऐतिहासिक भएको बताउँदै अब चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट संकेत गरेको ठहर गरेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशलाई संकटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनताको आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहना भएको विज्ञप्तिमा उल्लेख छ ।
सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्न नहुने भन्दै पार्टीले जनताको चाहना र भावनालाई दमन गर्ने वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर गई अप्रिय दुर्घटना हुने जनाएको छ ।
जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा अहिले देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दूवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।




प्रतिक्रिया