काठमाण्डु – नेकपा एकीकृत समाजवादीले गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ ।
सोमबार आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले राजावादीविरुद्ध एकतावद्ध हुन आह्वान गरेको हो ।
बैठकमा वर्तमान परिस्थितिबारे लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थानवादी शक्तिहरू सल्बलाइरहेको भन्दै गणतन्त्रविरुद्ध षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
गणतन्त्रको विकल्प अझ उन्नत स्तरको समाजवादी गणतन्त्र भएको निष्कर्ष पार्टीको रहेको उनले बताए । प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने उनले बताए ।
‘वर्तमान परिस्थितिका बारेमा लामो छलफल भयो । कतिपय पार्टीका आन्तरिक सवालहरूमा छलफल भयो । यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू जुन ढङ्गले सल्बलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेका छन् । त्यसका विषयमा अलि लामो बहस र छलफल भयो । यो गणतन्त्रको विकल्प अझ उन्नत स्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको विरुद्धमा हामी छौं । यस्ता गतिविधिविरुद्ध एकताबद्ध हुन संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरूले आत्मसमिक्षा गर्नुपर्छ, प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्नुपर्छ भन्ने निष्कर्ष छ,’ उनले भने, ‘प्रतिगमनकारी शक्तिहरूको विरोध गर्दै सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू, गणतन्त्रवादी जनसमुदायलाई गणतन्त्रको रक्षाको लागि एकताबद्ध हुने निर्णय भएको छ । रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदैछौं, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौं । चैत्र १ गते बृहत् पत्रकार सम्मेलनमार्फत आन्दोलनको रूपरेखा प्रस्तुत गर्ने निर्णय भएको छ ।’
आईतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राप्रपाले प्रदर्शन गरेपछि गणतन्त्रवादी दलहरू तरङ्गित भएका छन् ।




प्रतिक्रिया