काठमाण्डु- थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने तय भएको छ ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी छैटौं बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा छन् ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार बैंकक प्रस्थान गरेका हुन् ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षमा नेपाली प्रधानमन्त्रीको थाइल्याण्डको यो पहिलो औपचारिक भ्रमण हो ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड भ्रमण गरेका प्रधानमन्त्री ओलीले एक दिने औपचारिक भ्रमणमा पनि छन् ।
औपचारिक भ्रमणका क्रममा बुधबार दुई सरकारबीच सम्झौता र नेपाल र थाइल्याण्डका निजी क्षेत्रहरूबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुँदैछ । यी सम्झौताहरूले संस्कृति, पर्यटन र कृषि लगायतका क्षेत्रहरूलाई समेट्नेछन् ।
गत असारमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमणको खोजीमा छन् । बैंककमा मोदीसँगको उनको भेट बहुपक्षीय मञ्चमा उनीहरूबबीचको दोस्रो भेट हुनेछ । दुई प्रधामनन्त्रीले यसअघि गत सेप्टेम्बरमा न्यूयोर्कमा राष्ट्रसंघीय ७९ औं महासभाको क्रममा साइडलाइन भेटेवार्ता गरेका थिए । त्यसयता उनीहरूबीच भेटवार्ता भएको छैन ।
बैंककमा रहेका नेपाली अधिकारीहरूका अनुसार शुक्रबार स्थानीय समय अनुसार दिउँसो ४ बजे बैंककमा दुई प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली अधिकारीहरूले बैंककमा ओली र मोदीबीच भेटवार्ता हुने आशा गरेका छन् । ओलीको लामो समयदेखि प्रतिक्षा गरिएको भारतको औपचारिक द्विपक्षीय भ्रमणको लागि यो भेटवार्ताले मार्ग प्रशस्त गर्ने विश्वास पनि अधिकारीहरूले गरेका छन् ।
ओली प्रधानमन्त्री भएपछि न त उनको भारत भ्रमण सुनिश्चित भएको छ न त भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नै तय भएको छ । गत भदौमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । तर ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमण दुवै भएको छैन ।
भारतीय प्रधानमन्त्री मोदी बाहेक प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको क्रममा अन्य बिमस्टेक नेताहरूसँग पनि साइडलाइन भेटघाट गर्नेछन् । तर भारतीय प्रधानमन्त्री मोदीसँगको भेट बहुप्रतीक्षित मानिएको छ ।




प्रतिक्रिया