एमसीसी परियोजना बन्द, तर नेपालमा जारी रहने

एमसीसी परियोजना बन्द, तर नेपालमा जारी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी विदेशी सहायता कार्यक्रमहरूमा व्यापक कटौती गर्ने निर्णय गरेपछि त्यसको मारमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि परेको छ ।

एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपालको ऊर्जा र पूर्वाधार विकास योजनामा अनिश्चितता सिर्जना गरे पनि नेपालमा भने परियोजना जारी रहने जनाइएको छ ।

एमसीसी परियोजना अन्तर्गत नेपालमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण र सडक सुधार कार्यहरूका लागि ५० करोड अमेरिकी डलर अनुदान प्रदान गरिएको थियो ।

नेपाल सरकारले यस परियोजनामा २० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।
एमसिसी अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न नेपालमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपाल नामक सचिवालय स्थापित छ ।

एमसिए नेपालमार्फत अहिलेसम्म नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट, नयाँ दमौली तनहुँमा तीन ओटा सब स्टेसनका लागि ठेक्का सम्झौता भएको छ ।

त्यस्तै १८ किलोमिटर सीमापार प्रसारण लाइनको पनि ठेक्का सम्झौता भइसकेको छ ।

यस्तै, धानखोला–लमही ४० किलोमिटर सडक मर्मत सम्भारको प्रारम्भिक काम पनि अघि बढिसकेको छ ।

अर्बपति व्यापारी इलोन मस्कको नेतृत्वमा अमेरिकी राष्ट्रपति ट्रम्पले स्थापना गरेको खर्च कटौतीसम्बन्धी निकाय डीओजीईले एमसीसीका कर्मचारीहरूलाई राजीनामा दिन वा बर्खास्त हुने समय पर्खन भन्दै इमेल पठाउँदै एमसीसी बन्द गर्ने निर्णय गरेको हो ।

विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा रिपब्लिकन राष्ट्रपति जोर्ज डब्ल्यू बुशका पालामा अमेरिकी संसद्ले स्थापना गरेको थियो ।

गत जनवरीमा राष्ट्रपतिको कार्यकाल सुरु गरेका ट्रम्पको प्रशासनले यसअघि अफ्रिकामा विकासका लागि स्थापना गरिएको सहयोग परियोजना र यूएसएआईडीको कार्यालयको आकार घटाएको थियो ।

अमेरिकी संसद्बाट स्थापना भएको र नेपालको संसद्बाट अनुमोदन समेत भइसकेको भए पनि अमेरिकाले चाहेको अवस्थामा एकतर्फी रूपमै पनि एमसीसी फिर्ता लैजान सक्ने प्रावधान एमसीसी सम्झौतामा उल्लेख छ ।

नेपाल सरकार र अमेरिकी सरकारले स्थापना गरेको एमसीसीबीच सन् २०१७मा एमसीसी सम्झौतामा वाशिङ्टनमा हस्ताक्षर भएको थियो । त्यसबेला नेपालमा अहिलेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार थियो ।

सन् २०२२ मा एमसीसी परियोजना नेपालको संसद्बाट अनुमोदन भएपछि कार्यान्वयनमा आएको थियो ।

नेपालमा नरोकिने

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार संसारभर एमसीसीका सबै कार्य बन्द भए पनि नेपालमा हाल सञ्चालनमा रहेको प्रसारण लाइन निर्माणको काम भने रोकिने छैन ।

एमसिसीका कर्मचारको भनाइ उद्दृत गर्दै रोयटर्सले एमसीसीका सबै काम रोक्न आदेश दिए पनि नेपाल र सेनेगलमा निर्माण भइरहेको प्रसारण लाइन, मंगोलियाको पानी प्रशोधन प्लान्ट र आइभरी कोस्टको विद्यालयको काम भने निरन्तर जारी रहने उल्लेख गरेको छ । एमसीसी नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूमा चलिरहेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारी नेपालमा अहिलेसम्म एमसीसी बन्द हुने वा परियोजना रोकिने जानकारी नआएको बताउँछन् ।

एमसीसी बन्द हुने औपचारिक जानकारी नआएसम्म नेपालले यसबारे कुनै छलफल नगर्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछ ।