सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी

रास्वपा सांसदहरू नै अनुमोदनको विपक्षमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित चारमध्ये दुईजना न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका छन्। चार न्यायाधीशलाई जम्मा १३ वटा उजुरी परेकामा शनिबारका लागि सुनुवाइ तोकिएका दुई प्रस्तावित न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका हुन् ।

बिहीबार उजुरी खोलेको संसदीय सुनुवाइ समितिले शुक्रबार सिंहदरबारमा उजुरीकर्तासँग छलफल गरेको थियो । समितिका सभापति बोधनारायण श्रेष्ठ सभापतिका अनुसार समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरू गर्न शुक्रबार चारैजनाविरुद्ध उजुरी दिएकाहरूसँग छलफल गरेको हो ।

समितिको बिहीबार बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलेको थियो । शुक्रबार समितिले उजुरीकर्तासँग छलफल गरेर अहिले चारमध्ये दुईजना प्रस्तावित न्यायाधीशहरूबारे सुनुवाइ अघि बढेको छ।

प्रस्तावित न्यायाधीश डा. रत्‍नबहादुर बागचन्द, काठमाण्डु र चन्द्रबहादुर सारू, अर्घाखाँचीबारे परेका उजुरीसहितका विषयमा अहिले सुनुवाइ अघि बढेको छ। दुवैजना न्यायाधीश अहिले समितिमा उपस्थित भएर सुनुवाइमा भाग लिइरहेका छन्।

समितिका अनुसार शनिबारका लागि सुनुवाइ तोकिएका जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका छन्। शुक्रबार सुनुवाइ अघि बढाइएका दुईजनाको नाम भने अनुमोदन सम्भावना उच्च छ। पाण्डेसँगै डाँगीविरुद्ध पनि गम्भीर प्रकृतिको उजुरी समितिमा पुगेको छ। तर समितिमा यसबारे विस्तृत केही खुलाएको छैन।

उता शनिबारलाई सुनुवाइ तोकिएका अन्य दुई न्यायाधीशमाथि गम्भीर प्रकृतिका उजुरी परेपछि सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकै सदस्यहरू पनि नाम अनुमोदनको विपक्षमा देखिएका छन्।

‘दुईजना माथि गम्भीर किसिमको उजुरी आएको छ। आचारणसँग सम्बन्धित उजुरी पनि परेको छ। योग्यतामाथि पनि प्रश्न उठाइएको छ’, समितिका एकजना सदस्यले भने, ‘त्यसैले उनीहरूको नाम सुनुवाइका लागि अर्को दिनलाई तोकिएको छ।’

ती दुईजनाको नाम विवाद हुने सम्भावनाभएकैले समितिका सभापति श्रेष्ठले शुक्रबार दुईजनाको मात्रै नाममा सुनुवाइ गर्ने निर्णय लिएका हुन् । रास्वपाकै सांसदहरू पनि उनीहरूलाई अनुमोदनको पक्षमा नदेखिएकाले समितिमा थप विवाद हुने अवस्था देखिएको छ।

उता प्रस्तावित न्यायाधीश जनक पाण्डेकी पत्नी माया पुरी (पाण्डे) अहिले भ्रष्टाचार मुद्दा खेपिरहेकी छन् । मायाविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। जनककी श्रीमती मायासँगै उनकी सासु देवरूपा पुरी, साला रेवत राज(गगन) पुरी, गगन पत्नी केशावती पुरीविरुद्धको पनि चलेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन रहेको पाइएको छ।