मावि द्वितीय तहका स्थायी शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दर्ता

मावि द्वितीय तहका स्थायी शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको खैरहनी नगरपालिका–६ स्थित खैरहनी माध्यमिक विद्यालयमा द्वितीय तहका स्थायी शिक्षक गोपालप्रसाद शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवासुविधा प्राप्त गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।

शर्माले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट प्राप्त भएको भनिएको प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) नक्कली रहेको उजुरीका आधारमा भएको अनुसन्धानका क्रममा प्रमाणपत्र अवैध रहेको ठहर भएको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति पाई लाभ र सुविधा भोग गर्दै आएका शर्मामाथि प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) तथा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ का दफा १२ र २९ बमोजिम कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

शर्माले गलत प्रमाणपत्र पेश गरी ओहोदा प्राप्त गर्नुका साथै राज्यको स्रोत दुरुपयोग गरेकाले कारवाहीको मागदाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।