२९ जिल्लामा आज बाढीको खतरा

२९ जिल्लामा आज बाढीको खतरा

११ जिल्लामा ‘एल्लो वारेन्ट’ जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजधानी काठमाण्डुसहित देशका २९ जिल्लामा बाढीको जोखिम देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार विभिन्न २९ जिल्लमा बाढीको जोखिम देखिएको जनाउँदै सतर्क रहन सुझाव दिएको छ।

बिहीबार ललितपुर, काठमाण्डु सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला नदी र खोलामा बाढी बढ्ने सम्भावना देखिएका महाशाखाले जनाएको छ ।

यसका साथै महाशाखाले डोटीको पश्चिम सेती, डोटीको दिपायल र डडेलधुराको साहुखर्क र आसपास क्षेत्रमा भारी वर्षा भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ।

महाशाखाका अनुसार डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेलधुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपास मध्यमदेखि भारी वर्षा मापन भएकोले सो क्षेत्रमा ससाना खोलाहरूमा आकस्मिक बाढीसमेत हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाउन भनेको छ ।

यसका साथै महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला तथा नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यीमध्ये भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला जिल्लाका लागि भने महाशाखाले पहेँलो रङ लगाएको छ अर्थात् एल्लो वारेन्ट नै जारी गरेको छ। पहेँलो रङ लगाउनुको अर्थ सामान्य जोखिमभन्दा अलि बढी मध्यम जोखिमको संकेत गर्नु हो।