कांग्रेस बैठक : एजेण्डा छाडेर नेताहरू घोचपेचमा

कांग्रेस बैठक : एजेण्डा छाडेर नेताहरू घोचपेचमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु : गत १६ असारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्तुत एजेन्डा छाडेर नेताहरू आरोप–प्रत्यारोप र घोचपेचमा व्यस्त भएका छन् ।

प्रस्तावित विषयगत एजेण्डाभन्दा बाहिर गएर नेताहरू ‘वाक युद्ध’मा उत्रिएका छन् । बैठक गम्भीर छलफल र वैचारिक तथा समीक्षात्मक बहस गर्नुपर्नेमा नेताहरू एकअर्कोप्रति आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।

जारी केन्द्रीय समिति बैठकमा नेताहरूले गरिरहेको विष वमनलाई कार्यकताहरूले असहज मानेका छन् ।

सोमबारदेखि सुरू भएको बैठकमा विभिन्न १३ वटा एजेन्डाहरू तय भएपनि विषयवस्तुभन्दा बाहिर आसपी हिलो छ्याप्ने कार्यलाई नेताहरूले निरन्तरता दिएका छन् । यसलाई व्यवस्थित गर्न स्वयम सभापति शेरबहादुर देउवालेसमेत सशक्त भूमिका निर्वाह गरेको देखिदैन् ।

बैठकमा बिहीबारसम्म करिब ६० जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् तर उनीहरूमध्ये अधिकांशले तय एजेन्डाभन्दा बाहिर गएर आरोप–प्रत्यारोपमा लागेका छन् ।

यसबीचमा एक पक्षले व्यक्तिगत रूपमा आक्रोश पोख्दै गर्दा अर्को पक्ष थप आक्रोशित हुने दृश्य सोमबारदेखि नै देखिएको छ । बैठकमा भएका गर्मागर्मीलाई नेताहरूले नै आफै सार्वजनिक गरेर मिडियामा पुर्‍याएका छन् ।

बैठकको पहिलो दिनमै नेता डा.शेखर कोइरालाले पार्टीका नेताहरूले गरेका अवैधानिक विषयमा चर्चा गरेका थिए । केन्द्रीय सदस्य मनोनयनमा विधान मिचिएकोप्रति सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका उनले भनेका थिए, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’ उनले पार्टीभित्र अनुशासन नभएको समेत कोइरालाले बताए । शेखर कोइरालाको अभिव्यक्तिप्रति केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल र विनोद चौधरीले प्रतिवाद गर्दै आरोप–प्रत्यारोपको शृङ्खला सुरु गरेका थिए ।

मंगलबारको बैठकमा डा कोइरालालाई प्रश्न गर्दै चौधरीले भने, ‘गुटको राजनीतिका नाममा निजी क्षेत्रका आफूजस्ता मान्छेलाई छेक्ने र कांग्रेस उम्मेदवारलाई हराउन खुलेआम घर घरमा गएर विपक्षीलाई भोट माग्ने लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनाललाई बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’

यस्तै बिहीबारको बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी मोहन बस्नेतविरूद्ध खनिए । त्यसअघि बुधबार महामन्त्री गगन थापाविरूद्ध मोहन बस्नेतले कडा अभिव्यक्ति दिएका थिए । बस्नेतलाई काउण्टर दिदै शिवाकोटीले भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको टिप्पणी गरे ।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बस्नेतले बुधबारको बैठकमा महामन्त्री थापाविरूद्ध आक्रमक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, आफूलाई अख्तियारले मुद्दा चलाउनमा महामन्त्री थापाको समेत भूमिका रहेको छ ।’ बस्नेतले भने, ‘यहाँ कोही पनि चोखो छैन, प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्दैन ।’

आफूमाथि लगाएको गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई महामन्त्री गगन थापाले फोहोरको संज्ञा दिए ।

लोकतान्त्रिक पार्टीको बैठकमा यसप्रकार भइरहेको आरोप–प्रत्यारोप र घोचपेचको प्रवृत्तिबाट सिंगो पार्टीमा नकारात्मक सन्देश प्रवाह भएको पनि नेताहरू नै बताउँछन् । आफू र आफ्ना गुटका नेता ठिक अरू बेठिक भन्ने ढंगले प्रस्तुत हुनु सिंगो पार्टीहित विपरीत भएको नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको धारणा छ ।

बैठक मुलुक, जनता र पार्टीको सांगठनिक अवस्थामा केन्द्रित हुनुपर्नेमा त्यस्तो नदेखिएको उनको भनाइ छ । ‘बैठकमा जुन प्रवृत्ति देखा परेका छन, यसले समग्र कांग्रेसलाई नै हानी गर्दछ,’ घिमिरेले भने ।

विधि र विधान विपरीतका गतिविधिलाई रोक्नुपर्ने आवाज उठाउने नेतालाई केन्द्रीय समितिकै साथीहरूले खुइल्याउनु जायज नभएको उनको तर्क छ ।