रौतहट – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झूटा मुद्दा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन् ।
उनीहरूले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झूटा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन् ।
जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले बताए । उनका अनुसार प्रहरीको ज्यादतीविरुद्ध २ दिने मलंगवा बजार बन्द आह्वान गरेको हो । पहिलो दिन शनिबार बिहानैदेखि मलंगवा बजार बन्द हुनुका साथै यातायात समेत ठप्प छ ।
मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदशन गरेका छन् । लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन् ।
मलंगवा बजार क्षेत्रको कलकारखाना बन्द छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने ठाउँठाउँमा प्रहरीको उपस्थिति बाक्लो बनाएको छ । सर्लाही जिल्ला अदालतबाट प्रहरीले जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएको १ हप्ता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न भने सकेको छैन । पूर्वमधेश प्रदेशसभा सदस्य समेत रहेका यादव र एसपी खड्काबिच असार १९ गते राति टेलिफोनमा अपशब्द प्रयोग गर्दै गालीगलौच र बाझाबाझ भएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
सर्लाही जिल्ला अदालतले यादवविरुद्ध आपराधिक उपद्रो कसूरमा पक्राउ गर्न असार २० गते नै अनुमति दिएको थियो ।
जसपा नेता यादवलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । खोजी रहेका नेता यादव भने आफ्नो सामाजिक सञ्जालमा विभिन्न भिडियो पोष्ट गर्ने र सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने काम भने गरिरहेकै छन् ।




प्रतिक्रिया