विवादलाई बेवास्ता गरी निरन्तर ‘कल्याण कार्य’ गर्दै भाटभटेनीका मीनबहादुर

विवादलाई बेवास्ता गरी निरन्तर ‘कल्याण कार्य’ गर्दै भाटभटेनीका मीनबहादुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनसँगै भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा काम गर्ने गोमा श्रेष्ठ चर्चामा आइन् । उनले इँटाभट्टामा काम गर्दै सर्वाेत्कृष्ट ४ जीपीए ल्याउनु सामान्य घटना थिएन तर उनी आर्थिक अभावबाट गुज्रिरहेकी थिइन् ।

भविष्यमा एमबीबीएस पढ्ने चाहना र क्षमता हुँदाहुँदै पनि आर्थिक अभावले सपना पूरा नहुने पो हो कि भन्ने चिन्तामा रहेकी गोमालाई भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले भेटेर एमबीबीएस पढाइको सम्पूर्ण खर्च सहयोग गर्ने प्रतिबद्धता जनाए । गोमाले एमबीबीएसको शैक्षिक शुल्कमा छात्रवृत्ति पाउनसक्ने भए पनि शैक्षिक सामग्री र व्यक्तिगत खर्चका लागि पनि सहयोग खोज्नुपर्ने बाध्यता रहेको बेला भाटभटेनी सञ्चालकले उनलाई भेटेरै खर्चको चिन्ता नगर्न आश्वस्त पारे । देशैभर शाखा सञ्जाल रहेको भाटभटेनीका सञ्चालक मीनबहादुरको सहयोगी भावना पटक–पटक व्यक्त हुने गरेको छ, गोमालाई गरिएको सहयोग त्यसकै निरन्तरता थियो ।

यसैबीच भाटभटेनीका सञ्चालक गुरुङले आमाबुवा वृषबहादुर गुरुङ र धनमाया गुरुङको सम्झनामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा साढे ९ करोड लागतको भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । शिक्षण अस्पतालको ४३औं वर्ष प्रवेशका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भवन उद्घाटन गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले अस्पताल भवन भवन निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनले भने, ‘दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्री गुरुङजीले नेपाली जनताको हितका लागि फेरि अर्को एउटा महत्वपूर्ण दान गर्नुभएको छ । सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरून् भनेर गर्नुभएको उहाँहरूको यो निकै राम्रो कामको प्रशंसा गर्छु ।’

कार्यक्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले विना स्वार्थ देश, जनता र राष्ट्रको सेवामा लाग्ने बताए । उनले भने, ‘भाटभटेनीका तर्फबाट अग्रपंक्तिमा रहेर सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा आत्मसाथ गर्दै देश, जनता र राष्ट्रको सेवा विना स्वार्थ स्वच्छ मनले गर्नेछौं, यो भवन निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा धेरै खुसी छौं ।’

यसअघि २०६८ सालमा मीनबहादुरले १० करोड रुपैयाँ लागतमा अस्पतालको आकस्मिक कक्षको भवन बनाएका थिए । उनले भने, ‘२०६८ सालमा अस्पताललाई आकस्मिक कक्ष राख्ने भवन आवश्यक हुँदा १० करोड लागतमा बनाइदिएका थियौं । अहिले फेरि अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुन: नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका हौं ।’

२०८१ वैशाखमा सञ्चालक गुरुङले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाण्डुसहित ७ वटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

२०८० कात्तिकमा भाटभटेनीले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । २०८१ असोजमा बाढी पीडित राहतका लागि भाटभटेनीका अध्यक्ष गुरुङले १ करोड ११ लाख सहयोग दिने घोषणा गरेका थिए ।

२०७६ चैतमा भाटभटेनीले सुदूरपश्चिम सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण तथा रोकथाम उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

चैत १५ गते काठमाण्डुको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा मारिएका २ जनाको परिवारलाई भाटभटेनीले नगद सहयोग गरेको थियो । घटनामा एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई गुरूङले ५ लाखको चेक हस्तान्तरण गरेका थिए भने कीर्तिपुरका सविन महर्जनको परिवारलाई ३ लाखको चेक हस्तान्तरण गरेका थिए ।

यसरी भाटभटेनीले विभिन्न संघसंस्था, घटनासँग सम्बन्धित व्यक्ति र सहयोगापेक्षीलाई सहयोग गर्दै कल्याणकारी कार्य गर्दै आएका छन् । तर भाटभटेनीको कुनै सहयोगलाई विवादित समेत बनाउने गरिएको छ ।

नेकपा एमालेको कार्यालय भवन बनाउन गुरुङले जग्गादान गर्दा त्यसलाई विवादित बनाइएको थियो । जग्गादानविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटलाई खारेज गर्दै अदालतले भनेको थियो, ‘ संविधान र कानूनले दललाई सम्पत्ति दान बकस लिन नपाउने गरी बन्देज नलगाएकोमा जग्गादान दिने र लिने काम अहिले नै कानून विपरीत रहेको भनी मान्न मिल्ने देखिएन ।’

कहिलेकाहीँ उत्पन्न हुने विवादलाई बेवास्ता गर्दै भाटभटेनीले आफ्नो सहयोगलाई निरन्तरता दिँदै आएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा साढे ९ करोड लागतको भवन निर्माण गरेर सोमबार हस्तान्तरण गरिनु त्यसकै निरन्तरता हो ।