प्लेअफबाट बाहिरिसकेको पोखराले बनायो एनपीएलकै कीर्तिमानी उच्च स्कोर, काठमाण्डुलाई २२५ रनको पहाड

प्लेअफबाट बाहिरिसकेको पोखराले बनायो एनपीएलकै कीर्तिमानी उच्च स्कोर, काठमाण्डुलाई २२५ रनको पहाड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिइसकेको पोखरा एभेन्जर्सले इतिहासमै सर्वाधिक रन बनाएको छ। आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो। यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च स्कोर हो।

यसअघि एनपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान विराटनगर किङ्ग्सको नाममा थियो। विराटनगरले सन् २०२५ नोभेम्बर १८ मा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट गुमाएर २२० रन बनाएको थियो। पोखराले उक्त कीर्तिमान चार रनले तोडेको छ।

पोखराका लागि रनको पहाड बनाउने क्रममा कुशल भुर्तेल र युवराज सामराले विस्फोटक ब्याटिङ गरे। भुर्तेल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। युवराजले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे।

दोस्रो विकेटका लागि भुर्तेल र सामराले १८६ रनको उत्कृष्ट साझेदारी गरे। अर्जुन कुमाल ५ रनमा आउट भएपछि क्रिजमा आएका यी दुईले काठमाडौंका बलरमाथि लगातार आक्रमण गरेका थिए।

कप्तान चमिका करुणारत्नेले अन्तिमतिर ७ बलमा १९ रन बनाए। धनञ्जय लक्षान २ रनमा अविजित रहे।

काठमाण्डुका करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। जाहान्दाद खानले एक विकेट हात पारे। तर, काठमाडौंका अन्य बलर पोखराका ब्याटरलाई रोक्न असफल भए। राशिद खानले ४ ओभरमा ५५ रन खर्चिए।

यसअघि पोखराले यही सिजन नोभेम्बर ९ मा कर्णाली याक्सविरुद्ध ३ विकेट गुमाएर २१७ रन बनाएको थियो। त्यो पनि एनपीएलको दोस्रो उच्च स्कोर थियो। आइतबार आफ्नै पुरानो कीर्तिमान उछिन्दै पोखराले नयाँ इतिहास बनाएको छ।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाण्डुका लागि अब २२५ रनको लक्ष्य ठूलो चुनौती बनेको छ। अर्कोतर्फ, प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिइसकेको पोखराले ब्याटिङबाट काठमाण्डुको नराम्रो धुलाइ गरेको छ।