खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्वारा अनुगमन

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्वारा अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेश क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सोमबार पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन् ।

तराई–मधेश क्षेत्र विशेषगरी वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएपछि त्यसको तत्कालीन तथा दीर्घकालीन रूपमा समस्या समाधानका लागि खानेपानीमन्त्री तथा कानूनमन्त्री चौरसियाले अनुगमनसहित निरीक्षण गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साह कानुले जानकारी दिए ।

उनका अनुसार तराई–मधेशसहित वीरगञ्ज क्षेत्रका नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि मन्त्रीद्वयले सोमबार पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले वीरगञ्ज लगायत तराई–मधेशको खानेपानीको तत्काल एवं दीर्घकालीन समस्या समाधानका लागि आफूसहित सिङ्गो मन्त्रालयको टीम अहोरात्र खटिएको जानकारी दिए ।

उनले भने, ‘वीरगञ्ज महानगरपालिकाको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एडीबीको ऋण सहयोगमा ४ अर्ब ५० करोड छुट्याइएको छ । तत्काल खानेपानीको समस्या समाधानका लागि यहाँका विभिन्न स्थानहरूमा डिपबोरिङ जडान गरी खानेपानी वितरणको कार्य आरम्भ गरिसकेको छ ।’

धेरै स्थानहरूमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि आफु सहित कानुनमन्त्री चौरसिया पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमनका लागि आइपुगेको मन्त्री यादवले बताए । तराई–मधेशसहित वीरगञ्ज क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि आफू पूर्णप्रतिबद्ध र कटिबद्ध रहेको मन्त्री यादवले बताए ।

उनले भने, ‘नेपाल खानेपानी संस्थानले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै समस्याको समाधानका लागि आवश्यक कदम चालिरहेको छ । यस कार्यमा तपाईंहरू सबैको सहकार्य र सहयोग अपेक्षित छ ।’

सोही क्रममा कानूनमन्त्री चौरसियाले पर्सा जिल्लावासीको खानेपानीको गम्भीर समस्याप्रति गहिरो चासो व्यक्त गर्दै खानेपानी पहुँचलाई सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएका छन् ।