काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कमिटीको एकमतले मिसन–८४ को नेतृत्व अध्यक्ष केपी शर्मा ओली नै भनिसकेको बताएका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौं । तर केन्द्रीय कमिटीको एकमतले मिसन–८४ को नेतृत्व केपी ओली नै भनिसक्यो ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउनेभन्दा लोकतन्त्रलाई बलियो बनाउनु रहेको बताए । ‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,’ उनले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’
भण्डारीले राजनीतिमा फर्किन मिल्दैन भन्ने केन्द्रीय कमिटीको निर्णयसँगै सदस्यता स्वत: निष्क्रिय भएको उनले बताए । ‘राजनीतिमा फर्किन मिल्दैन भन्ने निर्णय गरेपछि सदस्यताको विषय स्वत: निष्क्रिय भएको छ,’ उनले भने ।
एमालेले निर्णयमा भनेको छ, ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ । यसले जनता, प्रणाली, व्यवस्था र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ ।’




प्रतिक्रिया