काठमाण्डु- नेकपा (एमाले)ले केन्द्रीय समितिमार्फत् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी पुनः प्रवेशको मार्ग बन्द गरिदिएपछि राजनीतिमा अर्को बहस सुरु भएको छ । अब उनले के गर्लिन् ?
केन्द्रीय समितिले पार्टीकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने ठाउँ नरहेको निष्कर्ष निकालेपछि एमालेको नेतृत्व लिने उनको चाहनामा ब्रेक लागेको छ ।
तर भण्डारी पक्षीय नेताहरूले पार्टीको निर्णय अनुचित र विधानविपरीत भएको तर्क गरेका छन् । पार्टीको विधान महाधिवेशन बाँकी नै रहेकाले भण्डारीको बाटो बन्द भयो भन्न नमिल्ने तर्क ती नेताहरूको छ ।
भण्डारीको सन्दर्भमा केन्द्रीय कमिटीको निर्णयले पार्टीभित्र ध्रुवीकरण बढेको र आन्तरिक राजनीति पनि तातिएको छ ।
रोचक त के छ भने केन्द्रीय कमिटी बैठक अघि भण्डारीको पक्षमा लविङ गर्ने नेताहरू भने बैठकमा खुलेर बहस गर्न सकेनन् ।
२६४ केन्द्रीय सदस्यहरूले बैठकमा आफ्ना धारणा राखेका थिए तर ३ जनाले मात्रै बैठकको निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर भण्डारीको पक्षमा वकालत गरेका थिए ।
असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू पुनः सक्रिय पार्टी राजनीतिमा फर्किने घोषणा गरेपनि एमालेको पछिल्लो निर्णयले उनको बाटो भने बन्द भएको छ ।
एमालेको निर्णयले उनी अब के गर्लिन् र पार्टीमा फर्किने बाटो पूर्णतः बन्द हुँदा उनको विकल्प के त भन्ने कोणबाट पनि बहस सुरु भएको छ ।
केन्द्रीय कमिटिको निर्णयले यसै वर्ष भदौमा हुने विधान महाधिवेशनमा उनी सहभागी हुन पाउने विषय चुनौतीपूर्ण बनेको छ ।
पार्टीको विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण पनि गरेको छैन । यस्तो अवस्थामा भण्डारीसँग पार्टी प्रवेशको औपचारिक बाटो भने छैन ।
‘संविधानले रोकेको छैन । पार्टी विधानले रोकेको छैन । त्यस्तो अवस्थामा हिजो दिइएको ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेपछि फेरि आफ्नो पूर्ववत् अवस्थामा आउने भन्ने विषय मलाई अनुचित लाग्दैन’, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन् ।
तर भण्डारी राजनीतिमा फर्किने विषयमा समर्थन गर्दै आएका पोखरेलले केन्द्रीय कमिटीको निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ भने लेखेका थिएनन् ।
अबको बाटो के?
पार्टीको निर्णयबारे भण्डारीले सार्वजनिक टिप्पणी गरिसकेकी छैनन् । तर उनले आफू राजनीतिमा अघि बढिसकेको र अब नरोकिने बताउँदै आएकी हुन् ।
विधान महाधिवेशनमा मनोनयनबाट भए पनि उनलाई सहभागी बनाउने विषय चुनौतीपूर्ण छ । भण्डारी निकट नेताहरूका अनुसार पार्टीको निर्णयबारे कानुनी चुनौती दिने वा विधान महाधिवेशनपछि मात्रै केही निर्णय गर्ने विषय अहिले छलफलमै छ ।
तर पार्टीको निर्णयले विधान महाधिवेशनमा भण्डारीको प्रतिनिधित्वमा रोक लागेको स्वीकार नेताहरूले गरेका छन् ।
पार्टीको निर्णय संविधान वा पार्टीको विधानअनुसार छैन भने के भण्डारीले कानुनी उपचार खोज्लिन् त? ‘यस्ता विषय र विकल्पका बारेमा अहिले कुनै छलफल नभएको वरिष्ठ उपाध्यक्ष पोखरेल बताउँछन् ।
जानकारहरूका अनुसार पार्टीभित्र भण्डारीको प्रवेश पूर्णरूपमा बन्देज भए उनीसँग भने केही वैकल्पिक बाटो हरू छन् ।
कतिपयले भण्डारीका लागि अहिले सर्वोत्तम विकल्प राजनीतिक आकांक्षा छाडेर पूर्वराष्ट्रपतिकै भूमिकामा रहनु सुझाएका छन् ।
यस्तै अहिले पार्टीबाहिरै रहेर समर्थन जुटाउँदै जाने अर्को विकल्प उनीसँग छ । निरपेक्ष रहेर कम्युनिष्ट आन्दोलनको वैचारिक धारको नेतृत्व गर्ने विकल्प भण्डारीसँग छ । यसैगरी नयाँ पार्टी खोल्ने विकल्प पनि उनीसँग छ । तर यी मध्ये उनले के विकल्प रोज्ने हुन् हेर्न बाँकी छ ।




प्रतिक्रिया