ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री खानुस् भन्दा पनि एकता जोगाउन सकिएन : प्रचण्ड

ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री खानुस् भन्दा पनि एकता जोगाउन सकिएन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयासस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले नेकपा विघटनतर्फ किन पुग्यो भन्ने विषयमा खुलेर धारणा राखेका हुन् ।

‘हामीलाई जनताले विश्वास गरेर दुईतिहाइ नजिक पुर्‍याइदिएका थिए,’ उनले भने, ‘तर टिकेन । प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई । मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ ।’

प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वास समेत लागेको थियो । तर केही दिनमै परिस्थिति उल्टिएको उनले बताए ।

‘अर्को हप्तामै प्रचण्डले पार्टी सिध्याउने भयो भनेर पशुपतिको होटलमा बसेर मेरोविरुद्ध हमला गर्न साँठगाँठ भएको थियो,’ उनले भने ।

उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्तत: असफल हुनुपरेको बताए ।