डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् ।

काठमाण्डुमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रवृत्तिको आलोचना गरे ।

उनले वर्तमान प्रशासकीय प्रणालीमा दलीय प्रभाव अत्याधिक बढेको उल्लेख गर्दै भने, ‘अहिले दलीय प्रशासकहरू यसरी हावी भएका छन्, त्यो कल्पना गर्नै सकिँदैन । कुन पार्टीको प्रशासक हो, त्यसको घरमा त जानुहुन्छ उहाँहरू । तर अरुको घरमा गएर के छ, कसो छ भनेर सोध्ने चलन हराइसकेको छ ।’

बहुदलीय प्रणालीपछि केही हदसम्म अवस्था सुधारिएको भएपनि गणतन्त्रपछि प्रशासकहरूको शैली नै परिवर्तन भएको उनको भनाइ छ ।

‘हामीले कस्तो देश बनाउन खोजेका हौं ? देशलाई के बनाउने हो ?’ भन्दै उनले राजनीतिज्ञहरूको नैतिकता गम्भीर रूपमा खस्किएको उल्लेख गरे ।

कोइरालाले अहिले संसदमा घटिरहेका घटनाहरूलाई नियाल्दै संसदको स्तर समेत खस्किएको बताएका छन् । उनले संसदभित्र ‘इथिक्स कमिटी’ गठन गर्नुपर्नेमा जोड दिँदै मन्त्रीहरूलाई आरोप लागेपछि जिम्मेवारी लिन तयार नहुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।

‘कुनै मन्त्रीमाथि चार्ज आउँछ भने उसले ‘म राजीनामा दिन्छु’ भनेर अगाडि बढ्दैन । त्यो आँट नै छैन अहिले,’ उनले भने, ‘कस्तो कार्यपालिका बनाउने हो हामीले ?’

प्रधानमन्त्रीले दिनमा ५ चोटी भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर भने पनि त्यो व्यवहारमा देखिनुपर्ने आवश्यकता कोइरालाले औंल्याए । उनले भने, ‘हाम्रो  प्रधानमन्त्री दिनको ५ चोटी भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन,भ्रष्टाचार गर्न दिन्न । यो भनेर हुँदैन प्रधानमन्त्रीज्यू । अब गरेर देखाउनुपर्‍यो ।’