हेटौंडा – बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेतामा आफू पुन: चयन हुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार हेटौंडामा बसेको कांग्रेस नेता एवं सांसदहरूबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूले पुन: आफूलाई मत दिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुँदैन । किनभने उहाँहरूलाई थाहा छ उहाँहरूको नेता कस्तो हुनुहुन्छ भनेर । मान्यहरूले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’
मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका इन्द्रबहादुर बानियाँ पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने ४ मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ ।
कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिका रूपमा पठाएका केन्द्रीय सदस्य राजन केसीले सांसदहरूलाई छलफलमा राखेर सहमति जुटाउने प्रयास गरिरहेपनि त्यो सफल हुन सकेको छैन ।
लामा विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको गरिए पनि सफल नभएको जनाइएको छ ।




प्रतिक्रिया