माओवादीको विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न उपमहासचिव शर्माको प्रस्ताव

माओवादीको विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न उपमहासचिव शर्माको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा मंगलबार ४ बुँदे भनाई राख्दै उनले गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन पुनर्गठन गर्नुपर्ने माग राखे । उनले ४ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन उनले आग्रह गरेका छन् ।

यस्तो छ उनको धारणा –

नेकपा माओवादी केन्द्र पार्टीबारे उठेको भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु ।

१. विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु ।

२. गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौं । जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ ।

३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौं ।

४. यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुन:संरचना र पार्टीको पुनर्गठन नै हो ।

अर्थतन्त्रको पुनसंरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ । यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ । आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ ।

देशमा बढ्दै गएको कुशासन, कानून निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिनेछ । संविधान संशोधनले शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुन:संरचना आदि एजेन्डाहरूबाट राष्ट्रलाई एकताबद्ध गर्नेछ ।

विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ ।