पूर्वराष्ट्रपति भण्डारीमा धैर्यता देखिएन : महासचिव पोखरेल

पूर्वराष्ट्रपति भण्डारीमा धैर्यता देखिएन : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको भन्ने कल्पनै गर्न नसकिने बताएका छन्।

बुधबार काठमाण्डुमा जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसाबले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफूले कुरा राखेको दाबी गरे ।

भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासचिव पोखरेलले बताए।

उनले भने, ‘विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब उहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर उहाँमा त्यो धैर्यता देखिएन ।’

पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार भण्डारी सम्मानित भएर बस्नुपर्छ उनले बताए । ‘पार्टीको दृष्टिकोण त्यही हो उहाँले पार्टीको नीति र निर्णयलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतिको पालना गर्नुहुनेछ’, पोखरेलले भने ।

पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन भएको उनले बताए। त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यता विशेषता विपरीत नभएको उनले उल्लेख गरे ।