काठमाण्डु – कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डले ‘रिल प्रतियोगिता’को घोषणा गरेको छ । मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो ।
‘सम्बन्धको उत्सव मनाऔं, खुसी बाँडौं र रु १,००,००० जितौं’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा सहभागीहरूले आफ्ना चारखुट्टे साथीहरूसँगको अगाध माया, वफादारी र सहकार्यलाई सिर्जनात्मक ढङ्गले भिडियोमार्फत् प्रस्तुत गर्नुपर्नेछ ।
परम्परागत टीका, सयपत्रीको मालादेखि कुकुरहरूसँग बिताइने दैनिक जीवनका सुन्दर पलहरूलाई समेटेर सिर्जनात्मक कथा वा भिडियो तयार पारी प्रतियोगितामा सहभागी हुन सकिनेछ ।
रिल भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । सहभागीहरूको भिडियो पूर्ण रूपमा मौलिक र कुकुर तिहारको भावनालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेको हुनुपर्ने नियम छ ।
‘सहभागीहरूले तोकिएको ह्यासट्याग र नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गरी आफ्नै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । भिडियो नोभेम्बर २१ सम्म पठाउनुपर्ने छ ।


प्रतिक्रिया